देशभर बाढी र पहिरोको वितण्डा, दर्जन बढीको मृत्यु , सयौँ परिवार विस्थापित

तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन

देशभर दुई दिनदेखि लगातार परेको वर्षाले दर्जन बढिले ज्यान गुमाएका छन भने सयौ परिवार विस्थापित हुनुपरेको छ । बाढीका कारण विद्यालय भवन, बिद्युत उत्पादन केन्द्र, प्रहरी कार्यलय देखि तटिय क्षेत्रमा सञ्चालनमा रहेका कृषि पशुपालन जस्ता विभिन्न व्यापारिक केन्द्रहरुमा ठुलो जनधनको क्षति पुगेको छ ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिँडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए । सिन्धुपाल्चोकसँगै बाग्मति प्रदेशमा अन्य स्थानमा समेत बाढि र पहिरोले जनधनको क्षति पुगेका दुःखद समाचारहरु प्राप्त भईरहेका छन ।

बाग्मति प्रदेशसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुगेको छ ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा नासों गाउँपालिका–१ तालगाउँ पूरै डुबानमा परेको छ । यहाँका ४८ घर डुबानमा पर्दा सिंगो गाउँ विस्थापित भएको छ ।

स्थानीय मीनराशी गुरुङले गाउँवासी पहरामुनि गएर बसेको बताए । केही लमजुङ सीमा क्षेत्र म्यार्दीभीरतर्फ आएका छन् । उनका अनुसार बाढीले गाउँको जलविद्युत्मा क्षति पुर्‍याएको छ । टेलिफोन नेटवर्क छैन । ‘हामी म्यार्दीभीरमा आएर फोन गरेका हौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तालगाउँका स्थानीयको उद्धार गरी तालडाँडामा राखिएको छ । केही घेराङ गएका छन् ।

मनाङ सदरमुकाम चामेको हुलाक कार्यालयसहित ५ घर घट्टेखोलाको बाढीले बगाएको छ भने ५ घर डुबानमा परेका छन् । बजार क्षेत्र जोखिममा परेपछि चामेका ६० घरका ३ सय जनालाई कारागारको नयाँ भवनमा राखिएको छ । चामेमा पारिपट्टिका ५ वटा घर डुबानमा परेपछि तलेखुमा गएर बसेको स्थानीय मेलिना गुरुङले बताइन् । ‘पारिपट्टिको बाढी हेर्दै थिएँ, एक्कासि नदी बढेर आयो, भागेर तलेखु पुगेर बसेको छु, घरको अवस्था के छ, थाहा छैन,’ उनले भनिन् । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले मर्स्याङ्दीले बगाएर ल्याएको ढुंगामुढाले नदी थुनिएको बताए । बाढीले तातोपानी र त्यहाँको संरचना बगाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीका अनुसार चामे बजारलाई बाढीले ३ भागमा बाँडिदिएको छ । घट्टेखोलाको एउटा र स्यार्क्युखोलाको २ वटा पुल बगाएको छ । दुई खोलाबीच जिल्ला प्रहरी कार्यालयसहित बैंक तथा मुख्य बजार क्षेत्र छ । घट्टेखोलादेखि तलतिर नयाँबजार र स्यार्क्यु खोलादेखि माथिपट्टि नेपाली सेना, प्रशासन, अस्पताललगायत सबै कार्यालय छन् । ‘हामीले बाढीबाट नागरिकका घर जोगाउने प्रयास गर्‍यौं । बाढीमै पसेर प्रयास गर्‍यौं । तर, सकिएको छैन,’ उनले भने ।

वर्षाले चामे–१ तिमाङ खोलाको बेलिब्रिज बगाउनुका साथै ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् आयोजना बगाएको छ । बेंसीसहर–चामे सडकको ठाउँठाउँमा बाढीले काठेपुल बगाएको छ । धारापानीमा एउटा घर बगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

बाढीपहिरोले बागलुङका १४ घरपरिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–७ मा ८ र काठेखोला–७ का ५ घर विस्थापित भएका हुन् । काठेखोलाको रेसमा ग्रामीण सडकको पहिरो खस्दा स्थानीय चित्रबहादुर कार्की, कृष्ण जीसी, बलबहादुर जीसीसहितका परिवार विस्थापित भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । पहिरो खसिरहेकाले जमिन भासिएको र घरहरू जोखिममा परेपछि छिमेकीको घरमा बस्न लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । उद्धारका लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा सुरक्षाटोली गाउँ पुगेको थियो ।

पहिरोले म्याग्दीका अधिकांश सडक अवरुद्ध भएका छन् । बेनी–जोमसोम सडक सोमबारदेखि नै अवरुद्ध छ । चमेरे, तिप्ल्याङ, भीरकाटे, तातोपानी, जलथले, गुइठे, काप्रेभीरमा पहिरोले र म्याग्दीको बेगखोला, रुप्सेखोला र मुस्ताङको कैकुखोला, मार्फाखोला, पान्डाखोला तथा लुप्रा खोलामा खहरेबाट लेदोसहितको बाढी आएकाले पैदल यात्रासमेत बन्द छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा बाढीको सतह बढ्दै गएपछि तटीय बस्तीमा कटानको त्रास बढेको छ । अन्नपूर्ण गाउँपालिकाको घार र महभीरका ३ घर पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सडककै कारण पहिरो खसेको बताए । धवलागिरि गाउँपालिका–६ मराङको कुम्रीमा लगातारको झरीपछि यो वर्ष पनि पहिरो खस्दा कुम्री बस्ती बग्न थालेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पर्वतको कुश्मा–१ सहस्रधारामा खसेको पहिरोले मध्यपहाडी सडक ९पुष्पलाल मार्ग० मंगलबार दिनभर अवरुद्ध भयो । कालीगण्डकीमा आएको बाढीका कारण नदीसतह उच्च हुँदा बिहादी–६ मा पर्ने सेतीबेणी बजारका दर्जनभन्दा बढी घर तथा मठमन्दिर डुबानमा परेका छन् । मालढुंगा–बेनी सडकखण्डको आधा दर्जन स्थानमा खसेका पहिराले दिनभरजसो उक्त सडकमा सवारी आवागमन रोकियो । पर्वत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रदीप पौडेलले सहस्राधारामा ढुंगा खसेर सडक अवरुद्ध भएको बताए । पहिरोले अधिकांश सडक अवरुद्ध छन् । बिहानदेखि कालीगण्डकी र स्थानीय सेतीखोलाको सतह पसेपछि बिहादी गाउँपालिका–६ मा पर्ने सेतीबेणी बजारक्षेत्र डुबानमा परेको छ । कालीगण्डकी किनारमा रहेको शालिग्राम शिला, संस्कृत विद्याश्रम, मन्दिर, धर्मशाला लगायतका संरचना डुबेका छन् ।

पाल्पाको रिब्दीकोट–४ भैरवस्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । भैरवस्थानको मन्छीगाउँ बस्ने महेन्द्र भट्टराई क्षत्रीको घरमाथिबाट पहिरो खसेर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो । मदनलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वालीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरमाथिबाट खसेको पहिरोले घरलाई पूर्ण क्षति पुगेको छ । घरमा आमाछोरा बस्दै आएकामा आमा बाहिर रहेकाले उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको गोडेपुलनजिकै जगबाटै सडक बगाएको छ । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको थियो । दिउँसो नै पहिरो खसेको थियो ।

यसैबीच तिनाउ नदीमा बाढीले सतह पार गरेको छ । विगतका वर्षमा बग्ने तिनाउ नदीको सतह यस वर्ष २०३८ सालपछिकै बाढी आएको तिनाउ–३, झुम्साका कृष्णप्रसाद पाण्डेयले बताए । तिनाउ नदीमा आएको बाढीले दायाँबायाँ भागमा कटान गरेको छ । तिनाउ नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रमा पनि सावधानी अपनाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले २ वटा एक्स्काभेटर, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटरलगायत सामग्री बगाएको आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । पोखरा–१५ कै अमिनतरामा जमिन भासिएर गएको पहिरोले ४५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी पुरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका–८ का मोतिलाल विकको घर भासिँदा ९ जनाको परिवार विस्थापित भएको छ । अन्नपूर्ण गाउँपालिका–८ मा वीरेठाँटी–घोरेपानी सडक खण्डमा पहिरो जाँदा ४ घर विस्थापित भएका छन् । मोदीखोलामा पानीको बहाव बढ्दा वीरेठाँटीका ६ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका छन् । ट्रक मर्मतको कामका लागि गोरखा बस्दै आएका चौधरीलाई कटुन्जे जाँदै गर्दा मंगलबार बिहान खोलाको भेलले बगाएको डीएसपी प्रकाश दाहालले बताए । स्थानीयको सहयोगमा मान्वु प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीबाट खोजी भइरहेको छ ।

तनहुँ हुँदै बग्ने साना ठूला खोला तथा नदीमा पानीको बहाव उच्च भएको र केही क्षेत्र बाढी र पहिरोको जोखिम छन् । निरन्तर परिरहेको पानीले मादी, सेती, मर्स्याङ्दी नदी तथा अन्य खहरे खोलामा पानीको बहाव बढ्दो छ । नदी तथा खोलामा बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

गण्डक ब्यारेजमा पानीको सतह बढेपछि सबै ढोका खोलियो
लगातारको वर्षाले नारायणीको बहाव उच्च भएपछि मंगलबार साँझ यहाँस्थित गण्डक ब्यारेजका नेपाल र भारततर्फका सबै ढोका खोलिएको छ । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारासिंह थापाले बताए ।

उनका अनुसार मंगलबार साँझ ब्यारेजमा २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले ब्यारेजमा २ लाख ६७ हजार २ सय क्युसेक पानीको प्रवाह खतराको सूचक मानिन्छ ।

नवलपरासीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा मंगलबार बढेको पानीको सतह । खतराको सूचक पार गरेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।

नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासनले गण्डक क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको छ । नारायणीका साथै सहायक खोलामा पनि पानीको सतह ह्वात्तै बढेको छ । जसका कारण जिल्लाको पाल्हीनन्दन १ मा ५०, सरावल २ मा ६० र सुस्ता गाउँपालिका ५ मा ३० घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा डुबान भएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि निर्माण गरिएको डाइभर्सन भत्किँदा सवारीसाधन रोकिएका छन् । दाउन्ने सडक खण्डमा सानाठूला गरेर पाँच स्थानमा पहिरो र घ्यु खोलामा सडक भासिएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।

सुदूरपश्चिमका सडक अवरुद्ध

लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिरो खसेर सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खसेर अछामको साँफे–मार्तडी सडक खण्ड सोमबारदेखि नै अवरुद्ध छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्र थापाले दिएको जानकारीअनुसार धनगढी–डडेलधुरा खण्डको हगुल्टेनजिक पहिरोले अवरुद्ध सडक मंगलबार साँझ एकतर्फी खुलेको छ ।

यस्तै खोडपे–बझाङ सडकको चैनपुरनजिक र ढोल्यामोडमा पहिरोले अवरुद्ध भएको प्रहरी उपरीक्षक थापाले बताए । सबैभन्दा बढी प्रभावित साँफेबगर–मार्तडी सडक खण्डअन्तर्गत ताप्रीसेरा र बल्देमा सडक अवरुद्ध भएको उनले बताए । नदीमा पानीको बहाव बढेकाले अहिलेसम्म बाटो खुलाउने प्रयास सफल भएको छैन । बाजुरामा दुई बेग्लाबेग्लै खोलाको बाढीले बगाएर सोमबार बेपत्ता भएकामध्ये एक जनाको शव मंगलबार फेला परेको छ ।

बाजुराको बूढीनन्दा नगपालिका–३ सिराडीको लौठी रूखकी ३५ वर्षीया मोतीकला लुहारको सोमबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए । किम्नी खोलाले बगाएर बेपत्ता भएका बाजुराकै त्रिवेणी नगरपालिकामा–५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढाको खोजी जारी रहेको साउदले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार