जनकपुर – जयनगर रेल दैनिक चारपटक आवतजावत हुने

काठमाडौं : नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चारपटक रेल आवतजावत हुने भएको छ। हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चारपटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो।

यसअघि, दुईपटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो।

रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ।

यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ। यसअघि एकपटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भिडभाड हुने गरेको थियो। साथै महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार