जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : अध्यक्ष ओली

'राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको भनाइ'

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे ।

बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउन सम्भव रहेको उनले बताए ।

“अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ,” शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार