प्रधानमन्त्री प्रचण्डले भने – ‘पाँच हजारको जिम्मा लिएको होइन, राजनीतिक प्रतिवाद गरेको मात्र हुँ’

'युद्धमा भएका राम्रा नराम्रा कामकाे जिम्मेवारी लिन्छु'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् ।

संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका क्रममा प्रसंगवश अभिव्यक्ति दिएको उनको जिकिर छ । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक सार्वजनिक कार्यक्रमा प्रचण्डले १७ हजार मारेर आएको आरोपको प्रतिवाद गरेका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘यो सत्य होइन । हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन्, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजो राज्यले मारेका १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा कामका म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नुभएन ।’

त्यो अभिव्यक्तिलाई लिएर प्रचण्डले पाँच हजार व्यक्ति मारेको नैतिक जिम्मेवारी लिने साबिती बयान दिएको र त्यसका आधारमा तत्काल प्रचलित कानून बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रचण्डको तर्फबाट लोकमणि पोखरेलले दिएको लिखित जवाफमा भनिएको छ, ‘रिट निवेदनमा उल्लेख भएजस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था होइन ।’

सशस्त्र विद्रोहका क्रममा निहत्था व्यक्तिमाथि आक्रमण गर्ने वा कुनै प्रकारका दुःख दिने गरी पार्टीबाट कुनै निर्णय नभएको र त्यस्तो आदेश नगरिएको प्रचण्डको दाबी छ । तर सशस्त्र द्वन्द्व र त्यसभन्दा पहिला राज्य पक्षबाट व्यक्ति बेपत्ता पारिएको तथा धनजनको क्षति भएको विषय राज्यको तर्फबाट समाधान गरिनुपर्ने उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार