मन्त्री छनोटमा कांग्रेस भित्र विवाद चुलिँदै, शेखर पक्ष बैठक बालुवाटारमा

काठमाडौँ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।

चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर गुरुङ र लिम्बुलाई मात्र मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।

शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए । अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार