नेपालमा विदेशीले पार्टी खोलेरै राजनीति गर्न थाले : चित्रबहादुर केसी

काठमाडौँ  – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरूले नेपालमा पार्टी नै खोलेर चलाएको दाबी गरेका छन्।​

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता संकटमा परेको बताए। उनले विदेशी नागरिकहरूले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए।

उनले स्थापित राजनीतिक दलहरू बदनाम हुँदै गइरहेको बताउँदै यस्तो बदनाम हुनुमा पार्टीहरूकै कमजोरी रहेको औंल्याए।

उनले भने‚ ‘देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता संकटमा छ। विदेशीको हस्तक्षेप खुलेआम बढेको छ। विदेशीहरूले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थाले । ५०/६० वर्षदेखि स्थापित पार्टी बदनाम र नाङ्गिएका छन्। त्यसको बदलामा नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, गृहमन्त्री बनाउने काम सरकारले गरेको छ। निर्वाचन आयोगले पनि गरेको छ। त्यो राम्रो कुरा होइन। नेपालको ऐन, कानूनको ठाडै उल्लंघन भएको छ।’

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे। उनले संसदीय व्यवस्थामा संसद्को ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भए पनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए।

केसीले भने‚ ‘सामान्य संसदीय प्रणालीमा संसद्‌भित्रको सबैभन्दा ठूलो पार्टीले नेतृत्व गर्नुपर्ने हो। यिनीहरूले संसदीय व्यवस्था मान्दैनन्। ठूलो पार्टीले नसके त्योभन्दा तल्लो ७९ सिटवालाले नेतृत्व गर्ने हो। ठूलाका लडाइँ, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ। उल्टो गंगा बगेको छ।’

उनले आगामी दिनमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार