गणपूरक सख्या नपुगेर संसद बैठक स्थगित

काठमाडौं प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।

संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९ सांसद बैठकमा उपस्थित हुनुपर्नेमा गणपूरक संख्या यकिन गर्दा ६१ जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

चार घण्टासम्म चलेको बैठकको सुरुमा सांसदहरू उपस्थित भए पनि बोल्दै हिँड्दै गरेपछि गणपूरक संख्या नपुगेको हो। बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि हटाइएको थियो।

संसदको अर्को बैठक २०८० साल वैशाख ३ गते बस्ने गरी स्थगित भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार