उद्योग वाणिज्य महासंघको निर्वाचन : अहिलेसम्म कति खस्यो मत ?

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभाको दोस्रो दिन वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, कार्यकारिणी सदस्यलगायतको निर्वाचनमा मतदान जारी छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान सुरु हुनासाथ विवाद भएपछि करिब १ घण्टा मतदान अवरुद्ध भएको थियो । अहिले भने मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला नगरतर्फ ४० %, बस्तुगततर्फ ७५% र एसोसिएटतर्फ ३०% मत खसेको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच त्रिपक्षीय प्रतिस्पर्धा छ । संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् ।

अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार रहेका छन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेमा  दोस्रो चरणका बिहाबार फेरि मतदान हुनेछ ।  दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

आज हुने निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् । जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार