म्यानमारमा सेनाको हवाइ आक्रमण, ५३ जनाको मृत्यु

म्यानमारमा सेनाले हवाइ आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका बीबीसीले जनाएको छ।

स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् । सरकारविरोधी संघर्षमा उत्रिएको विद्रोही समूहको एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका वेला सैन्य आक्रमण भएको हो । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ’आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो। त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौँको मृत्यु हुनुका साथै हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा पक्राउ परेका छन्। यसबीचमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार