यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। बैंकले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै गत साउनदेखि फागुन महिनासम्मको प्रतिवेदन सार्वजनिक गरेको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय  स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलव४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो ।

चालु आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५ दशमलव तीन प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव आठ प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति रु १४ खर्ब एक अर्ब २१ करोड बराबर रहेको छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च रु सात खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन रु पाँच खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले घटेको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार