सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत गरेको छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको समस्या समाधान नगरी अर्थतन्त्रमा देखा परेको ‘स्ट्रेस’ कम गर्न नसकिने बताएका छन्।

मंगलबार उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेको अहिलेको ‘स्ट्रेस’ को सामना गर्न नसकिने बताएका हुन्।

‘निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेको अहिलेको ‘स्ट्रेस’दबाब को सामना गर्न सकिँदैन भनेर प्रक्रिया सुरू गरेको छु। हामी बजेट र नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा जाँदैछौं। मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रबाट धेरै सुझावहरू ग्रहण गरेको छु। अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि सकारात्मक दिशा दिने प्रयास गरेका छौं,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक उतारचढावका कारण अर्थतन्त्रमा केही असर देखा परे पनि सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत गरेको बताए।

‘यद्यपी राजनीतिक उतारचढावका कारण जति गति र प्रभावका साथ जानुपर्ने त्यति जान अप्ठ्यारो परेकै हो। अब परिस्थिति फेरिएको छ। हामीले सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र गति दिने प्रयास गरेका छौं। तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिको स्थिति सन्तोषजनक मात्र होइन विस्तारै उत्साहजनक हुँदैछ। हामीलाई झण्डै ११ महिना पुग्ने विदेशी मुद्राको सञ्चिति हामीसँग छ। रेमिटेन्सको सुरूको र अहिलेको स्थिति हेर्दा राम्रो सुधार भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले यसअघि राजश्व संकलन एक अर्बभन्दा तल भए पनि पछिल्लो तीन महिनामा राजश्व संकलनको दर डेढ अरब भन्दा बढी रहेको बताए। उनले आफूहरू बैंकको व्याजदर कम गर्ने, राजश्व संकलन बढाउने लगायतका विषयमा सरकारका सबै अंगहरूसँग घनीभूत छलफल भइरहेको समेत बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार