बर्दिबासमा अतिक्रमित सडक खाली गर्न डोजर लिएर निस्के वडाध्यक्ष

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडाध्यक्ष पदम आले मगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।

वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०र१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०/१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाई अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुनाउनुको एउटै कारण ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरूले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामवावु यादव बताउँछन् ।

जिल्लाभरि नै सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सात दिने सूचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैँ डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार