आमा र बच्चाको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा आमा र बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गोदावरी नगरपालिका वडा नं। २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र उनको पेटमा भएको बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

आइतबार उनलाई सुत्केरीको लागि अस्पताल गरिएको थियो । डाक्टरहरूको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयहरूले विरोध गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । स्थानीयले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पार्दै लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन् ।

चैत १८ गते सुत्केरी मिति भए पनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन् । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरूले चासो नदिएको आरोप लगाइन् ।

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन् । उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको तर बिहान अचानक नै उक्त समस्या आएको बताए । आफूहरूले सक्दो मेहनत गरेको तर उक्त समस्या अचानक आएकाले नै बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार