स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा।समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे ।

मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे । उनले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे ।

सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । उनले कोभिड १९ विरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए । उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार