प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ अर्ब रहेको उनले बताए । बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख अनुमान गरिएको आङ्बुहाङले बताए ।

यस्तै, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट कूल ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम चालू आर्थिक वर्षको रहन गएको नगद मौज्दातबाट २ अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा करिब ७ अर्ब कम आकारको बजेट ल्याएको हो । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार