उम्मेदवारको अन्तिम सूची तय, आयोगले दियो चुनाव चिह्न

चारजनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ, चितवन र बारामा हुने चुनावका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । चितवन र बारामा उम्मेदवारी दर्ता गराएका चारजनाले फिर्ता लिएका छन् । तनहुँबाट भने कसैले उम्मेदवारी फिर्ता लिएनन् । यससँगै निर्वाचन आयोगले बिहीबारै सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी १० वैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

चितवन २ मा स्वतन्त्र उम्मेदवारी दिएका चक्रपाणि न्यौपाने र सुदर्शन कँडेलले उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै चितवन २ मा २२ जनाको उम्मेदवारी कायम भएको छ । विभिन्न दलका १२ र स्वतन्त्र १० उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरेको छ । उम्मेदवारी फिर्ता लिएका कँडेलले सूर्यमुखी फूल चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका भास्करचन्द्र न्यौपानेलाई सहयोग गर्ने बताएका छन् । चितवन २ मा एक लाख २४ हजार ६ सय ९५ मतदाता छन् । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि यो क्षेत्रमा चार सय ८० मतदाता थपिएका हुन् ।

यस्तै आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा नौजना उम्मेदवार कायम भएका छन् । निर्वाचन कार्यालयले उम्मेदवारलाई बिहीबार चुनाव चिह्न प्रदान गरेको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार उम्मेदवारी फिर्ता लिने समय बिहीबार साँझसम्म थियो । तर, २० चैतमा उम्मेदवारी दर्ता गराएका कसैले पनि मनोनयन फिर्ता लिएनन्  ।

कांग्रेसका गोविन्द भट्टराईलाई रूख चिह्न, एमालेका सर्वेन्द्र खनाललाई सूर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले घन्टी चुनाव चिह्न पाएका छन्  । नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिलाई मादल, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानालाई घर, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापालाई कुखुराको भाले, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठलाई कार, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङलाई हलो र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारलाई पिँध भएको सादा ढकिया प्रदान गरिएको मुख्य निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

बारा २ को उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ता गराएका हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकाश सुवेदी र स्वतन्त्र उम्मेदवार मुनिफ मियाँ अन्सारीले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म दिएको समयभित्रै दुवैजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कयस्तै, निर्वाचन अधिकृतको कार्यालयले कायम भएका स्वतन्त्र उम्मेदवारलाई बिहीबार नै निर्वाचन चिह्न प्रदान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार