काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्पहरू बन्द

कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ लगायत मजदुरहरू आन्दोलित हुँदा काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
मङ्गलवार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगायत मजदुरहरू आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरुले मङ्गलवार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नाराबाजी गरेका छन् । उनीहरुले छिटो भन्दा छिटो कोरोना विरुद्धको खोप दिनुपर्ने आफुहरुको माग गरेको बताए । सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफुहरुको माग पुरा नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घका अध्यक्ष शिव पोखरेलले बताए ।
त्यस्तै नेपाल पेट्रोलियम मजदुर सङ्घका अध्यक्ष ईश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगन्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताएका छन् । उनले अत्यावश्यक क्षेत्रमा काम गर्ने आफूहरूलाई खोप दिन सरकारले आनाकानी गरिरहेको आरोप लगाए । उनले आफुहरुको स्वास्थ्य जोखिममा परेकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने धारणा राखे ।
ढुवानीकर्ताको अवरोधका कारण मङ्गलवार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई पत्र पठाएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार