धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा सहयोग

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पु¥याएको फाउण्डेशनले जनाएको छ । उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क, २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताए । यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उनले बताए । यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड–१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिन्पोछेले बताए ।

सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले रु पाँच करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी अस्थायी अस्पताल (कोभिड अस्पताल)का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट उपलब्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । निवर्तमान सङ्घीय सांसद गङ्गाबहादुर तामाङको समन्वयमा प्राप्त सामग्री अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गणेश लामालाई सोमबार हस्तान्तरण गरिएको हो ।

रोशी गाउँपालिका–१, २, ३ र ४ लाई लक्षित गरी रोशी गाउँपालिकाले सञ्चालनमा ल्याएको सो अस्पतालले नजिकको बेथानचोक गाउँपालिका–६ र नमोबुद्ध नगरपालिका–९ र ८ को तल्लो क्षेत्रका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । सङ्क्रमित बिरामी उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउन आवश्यक रहेको अवस्थामा सांसद तामाङको समन्वयमा सो स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ । प्राप्त सामग्रीमा अक्सिजन सिलिण्डर तीन थान, पल्स अक्सोमिटर दुई थान, एन्टिजेन किट ५० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, थर्मलगन एक थान, सर्जिकल मास्क दुई हजार थान, डिस्पोजेवल भिजिटर ज्याकेट १०० थान, बुटसेट १० थान, पिपिइ १० थान, सर्जिकल ग्लोब्स १५० जोर, के–९९ मास्क २०० थानलगायत डिस्पोजेवल ग्लोब्स, फेसशिल्डलगायतका सामग्री छन् ।

कोभिडको सङ्क्रमण गाउँगाउँमा फैलिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा परीक्षण दरलाई विस्तार गर्न र उपचारमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट र पहुँचभन्दा टाढा रहेको पालिकाले सञ्चालन गरेको अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव रहेकाले आफ्नो पहलमा ती सामग्री मन्त्रालयबाट उपलब्ध गराएको निवर्तमान सांसद तामाङले बताए । तामाङको पलहमा यसअघि जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकास्थित धुसेनी शिवालय प्राथमिक अस्पताल र डिसीडब्लुसी अस्पतालका लागि अक्सिजन सिलिण्डर १० थानलगायत महत्वपूर्ण औषधि गाउँपालिकालाई उपलब्ध गराएका थिए ।

त्यसैगरी सो अस्पताललाई नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला कमिटीबाट आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रका नेता मिमबहादुर वाइबाको नेतृत्वमा नेकपा माओवादी केन्द्र प्रवास कमिटीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार