आजबाट नयाँ शैक्षिक सत्र सुरु, देशभर भर्ना अभियान थालिने

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो ।

नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । कोभिड-१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो ।

त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ । असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार