उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको प्यानल घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले प्यानल घोषणा गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी संघईले प्यानल घोषणा गरेका हुन् ।

उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठलाई साथ लिएर संघईले प्यानल तयार गरेका छन् । ‘मेरो ध्यान, साना र मझौला उद्योगको प्रवर्धन’ नारा लिएर चुनावी मैदानमा होमिएका संघईले आज बिहान उम्मेदवारी दर्ता गराएका थिए ।

प्यानल तथा प्रतिबद्धता पत्र घोषणा कार्यक्रममा उनले महासंघलाई थप प्रविधिमैत्री बनाउनुका साथै उद्योगी व्यवसायीको कामलाई सघाउन ‘सहयोगी समूह’को भूमिकालाई प्रभावकारी बनाउने बताए ।

कार्यक्रममा अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झन्डै ८० प्रतिशत हाराहारी पुगेकाले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले खेल्नुपर्ने भूमिकाले ठूलो अर्थ राख्ने तर्क गरे । संघईले नेपालको अर्थतन्त्रको ३ प्रतिशत हिस्सा आफ्नो रहेको र १८ हजारलाई रोजगारी दिएको समेत दाबी गरे ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा संघईले तीन विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संगठनात्मक सुधार र समन्वय, कानुन तथा नीति कार्यान्वयन, सुधार एवं परिवर्तनका लागि पहल तथा आर्थिक विकास र अर्थतन्त्र सुधारलाई मुख्य मुद्दा बनाएर काम गर्ने उनको प्रतिबद्धता छ ।

संघईले प्यानल घोषणा गर्नुअघि व्यवसायी ज्योत्स्ना श्रेष्ठलाई आफ्नो प्यानलमा ल्याउन सफल भएका छन् । फागुन ३० गते पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्षमा उठ्ने तयारी गरिरहेका अञ्जन श्रेष्ठको समूहमा रहने जानकारी गराएकी ज्योत्स्नाले अन्तिम समयमा कित्ता फेरेकी हुन् ।

अञ्जनको टिमबाट ज्योत्स्ना, मनिषलाल प्रधान र अरुणराज सुमार्गीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । अञ्जनको टिममा रहेर प्रोक्सी संकलन गरिरहेकी ज्योत्स्ना अन्तिम समयमा संघईको टिममा प्रवेश गरेकी हुन् ।

महासंघको साधारण सभा तथा महाधिवेशन चैत २८ र २९ गते हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार