महामारीयताकै सर्वाधिक पर्यटक, मार्चमा भित्रिए झन्डै एक लाख

सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२२ को यही महिनामा ४२ हजार ६ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए ।

सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्।

त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्।

नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन् । युरोपेली राष्ट्रहरूबाट २३।४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन् ।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु-याउन भारतपछि धेरै पर्यटक भित्रिने मुलुक चीनमा पर्यटन प्रवद्र्धनको काम सुरु गर्न लागेको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । उनले भने, “महामारीले असर परेका अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रलाई थप चलायमान बनाउन पर्यटक आगमन सङ्ख्या नै बढाउनु हो। दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनमा केन्द्रित रहेर त्यहाँबाट पर्यटक भित्र्याउन ‘चाइनिज सेल्फ मिसन कार्यक्रम सुरु गर्न यही महिना त्यसतर्फ जाँदैछौँ । चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्यासमेत बढाउनुपर्ने देखिएको छ ।”

भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको जनाउँदै उनले पछिल्लो समय आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेकाले पर्यटक आवागमन थप सुधारात्मक हुँदै जाने विश्वास व्यक्त गरे । विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्यअनुसार अनलाइनबाट नेपाल प्रवद्र्धनको काम जारी रहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार