उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

दर्ताका लागि दलहरुलाई छुट्टाछुट्टै समय

आगामी वैशाख १० मा तनहुँ, बारा र चितवनमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

२०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मसिंर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

दललाई छुट्टाछुट्टै समय
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ । एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ । अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार