अवकाशप्राप्त नायब सुब्बाको २ करोड भन्दा बढी अवैध सम्पत्ति

भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्व दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेविरुद्ध मुद्दा दायर भएको जानकारी दिएका हुन् ।

अवकाश प्राप्त आरोपित घिमिरेविरुद्ध एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरेर करोडौं सम्पत्ति कमाएको आरोप लागेको छ ।

यसरी गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद र जग्गा खरिदमा लगानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा वैधानिक आय भन्दा बढी कमाएको देखिएको हो । अनुसन्धानका क्रममा पाँच करोड २५ लाख १६ हजार ३२७ रूपैयाँ ४४ पैसा निजको वैधानिक आय स्रोत खुल्न आएको देखिएको अख्तियारको भनाइ छ । तर, थप दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा अवैध पुष्टि भएकाले जफत गर्न माग गरिएको छ ।

यसैगरी घिमिरेले पदको दुरुपयोग गरी कमाएको रकमले श्रीमती शारदा गौतमको नाममा समेत जोडेको पाइएकाले गौतमलाई पनि प्रतिवादी कायम गरी हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिएर आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार