बुटवल-पाल्पा सडक मंगलबारदेखि दैनिक ९ घन्टा बन्द हुने

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न यही चैत २१ गतेदेखि सडक बन्द हुने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको हुनाले माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले सडक बन्द हुने भएको जनाएको छ । कर्पोरेसनका अनुसार हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने र सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने बताइएको छ ।

बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायतका क्षेत्रको मुख्य मार्ग भएकाले लामो समय सडक बन्द हुँदा सेवाग्राहीले वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार