एसईई परीक्षा आजदेखि, सबैभन्दा धेरै परीक्षार्थी बागमतीमा

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार