जहाँ सेवाको आवश्यकता त्यहाँ लायन्स : लायन रोका [अन्तर्वार्ता]

'लायन्स क्लबले आधुनिक ब्लड बैंक स्थापना गर्दै'

काठठमाडौँ – लायन्स क्लब मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था हो। आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुनु नै लायन्स हो भनेर व्याख्या गर्ने गरिन्छ । “हामी सेवा गर्छौ” भन्ने मुल नारा लिएर विश्वका अधिकांश मुलुकमा लायन्सले काम गर्छ । फरक क्षमता भएका तर अवसर नपाएकाहरु लायन्सको प्रमुख प्राथामिकतामा हुन्छन् ।
७ जुन १९१७ का दिन अमेरीकाको शिकागो इलियोनसमा एक सामान्य जीवन वीमा ब्यवसायी स्वर्गिय मालविन जोन्सको पहलमा स्थापित एसोसिएसन अफ लायन्स क्लब्स नै आजको अन्तरराष्ट्रिय लायन्स क्लब्स इन्टरनेशनल हो । उनि १३ जनवरी, १८७९ का दिन अमेरिकाको थोमस आरिजोनामा जन्मेका थिए । दोश्रो विश्वयुद्धले निम्त्याएका प्रभाव र यसबाट पिडीत नागरिकहरुका उद्धारका लागि सामूहिक र निस्वार्थ सेवा प्रदान गर्न स्थापित “हामी सेवा गर्छौ” गर्ने मुल मन्त्रले आज एक सय ६ बर्ष पार गरिसकेको छ ।

नेपालमा भने लायन्स क्लबको प्रवेश सन १९७१ मा विराटनगरबाट पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब बाट भएको हो । काठमाण्डौमा १९७२ मा लायन्स क्लब काठमाण्डौको स्थापना बाट शुरु भएको हो ।अहिले नेपालका विभिन्न क्षेत्रमा लायन्स क्लबले सेवा दिँदै आएको छ ।

नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासका लागि लायन्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । लायन्स क्लबका आगामी योजना कस्ता छन्, लायन्स क्लबले स्थापना गर्न लागेको टीयू ब्लड बैंक केहो ? लगायतको विषयमा लायन मनबहादुर रोकासँग कुराकानी गरेका छौँ । लायन रोका सन् २००० देखि लायन्स क्लबमा आवद्ध छन् । उनको होम क्लब लायन्स क्लब अफ काठमाडौँ सामाखुसी हो । उनी उक्त क्लबको अध्यक्ष हुँदै २०२० मा डिस्ट्रक गर्भनर भएका थिए । रोका पास्ट काउन्सिल चियर पर्सन हुन् ।

लायन रोकासँग गरिएको कुराकानीको सम्पादित अंशः

लायन्स क्लब भनेको केहो ? यसका कार्यक्षेत्रहरु केके हुन् ?

विशुद्ध मानव सेवा गर्नका लागि स्थापना गरिएको एक समाजिक संस्था हो । हाम्रो समाजमा रहेका क्षमतावान् तर कम अवसर प्राप्त व्यक्तिहरुको सेवा गर्ने गर्दछ । यो संस्था विश्वका दुई सय १० भन्दा धेरै देशमा फैलिएको छ । भने यसको स्थापना आज भन्दा करीब एक सय ६ वर्ष अगाडी अमेरिकामा भएको हो । नेपाल भने न १९७१ मा विराटनगरबाट पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब स्थापना भएको थियो । त्यो नै नेपालको पहिलो लायन्स क्लब हो । अहिले नेपालमा करीब दुई हजार क्लबहरु छौँ । त्यती बेला करीब २५ जना मिलेर स्थापना गरेको क्लबमा अहिले नेपालभरी ४७ हजारको आसपासमा सदस्य छौँ । र हामीले मानवीय सेवाका कामहरु गर्नेछौँ ।

यो संस्था कसरी सामाजिक सेवा गर्दछ ? कस्ता समुदायलाई नेपाल लायन्स क्लबले सेवा गर्दछ ?
हरेक क्लबमा सामाजिक सेवा गर्ने भावना रहेको लायनहरु हुनुहुन्छ । उहाँहरुले आफूले सकेको योगदान र सेवा गर्नु हुन्छ । क्लबका सदस्यहरुले आर्थिक रुपमा र भौतिक रुपमा पनि सहयोग गर्नुहुन्छ । जसका कारण गर्दा समस्याको पहिल्याउन र समाधान गर्न सहयोग पुग्छ । सेवाका लागि सबै जना एकजुट छौँ । सबैमा सेवाको भावना छ । यो नै सेवा गर्ने पहिलो आधार हो । अर्को कुरा साहारा नभएको व्यक्तिका लागि लायन्स क्लब हो । जस्तो वृद्ध आश्रममा बसेका वृद्धवृद्धादेखि विभिन्न प्राकृतिक विपतिको सामना गरिरहेका व्यक्तिहरुको सेवा हामी सधै खटिन्छौँ । उहाँहरुको आवश्यकता पुरा गर्नु अर्थात् सेवा गर्नु हाम्रो पहिलो कर्तव्य ठान्छौँ । भूकम्प, कोरोना महामारी जस्ता विपत्तिमा हामीले आफ्नै खर्चमा सेवा गरिरहेको छौँ ।

तपाई लायन्स क्लबमा कहिँले देखि लाग्नु भयो ? के कुराले यहाँलाई लायन्स क्लबमा लाग्नका लागि प्ररित गर्यो ?
म लायन्स क्लबमा आज भन्दा दुई दशक पहिलेदेखि सक्रिय छु । केहि साथीहरुले लायन्स क्लब स्थापना गरि समाजसेवामा लाग्नु पर्ने बताएपछि म यसबारे अनुसन्धानमा लागे । देशका लागि केही योगदान दिनुपर्छ भन्ने भावना ममा पहिलेदेखि नै थियो । यसको बारेमा जानकारी पाएपछि देश र जनताका लागि निस्वार्थ सेवा गर्ने माध्यम लायन्स क्लब नै हो जस्तो लाग्यो । त्यसपछि म यसमा लागेको हुँ । अहिलेसम्म लायन्स क्लब मार्फत थुप्रै सेवाका कार्यहरु गरेको छ । दीनदुखीहरुको सेवा गर्न पाउँदा खुसी लाग्छ । उहाँको मुहारमा देखिएको खुसीले अझ सेवा गर्नका लागि उर्जा प्रदान गरिरहेको छ ।

दुई दशक भन्दा धेरै समय यसमा विताइसक्नु भएको छ यसमा काम गरिरँदा के कुराले सन्तुष्ट पार्दोरहे छ?
यसमा काम गरिरहँदा म सन्तुष्ट छु । यसले मलाई सन्तुष्ट मात्र होइन जिवन नै साथक बनाउने तरीका पनि सिकाएको छ । म एउटा उदाहरण पेस गर्न चाहन्छु, यो संस्थामा प्रवेश गरेको सुरुका वर्ष हामीले तराईका जिल्लाहरुमा आँखा शिविर सञ्चालन गरेका थियौँ । आँखा रोगीहरु व आँखा नदेख्ने थुर्पै व्यक्तिहरुको सेवा गर्यौ । र उहाँहरुको आँखाको ज्योति फर्कियो । त्यसपछि उहाँहरुको खुसीको सिमा रहेन । हामीलाई भगवान मान्नुभयो । कति त भक्कानिनु भयो । यस्तै कुराहरुले नै सन्तुष्टि दिइराखेको छ ।

कोरोना महामारीका बेला लायन्स क्लबले नेपालमा कसरी सेवा गर्यो ?
नेपाल लगायत विश्वभरी कारोना महामारीले आक्रन्तपारी रहेका बेला सन २०२० मा म डिस्ट्रीक गर्भनर भएको थिए । त्यस्तो कठिन परिस्थीतिमा जनताको सेवा गर्ने अवसर मैले प्राप्त गरे । काम गर्न अत्यन्तै चुनौती थियो । तर मैले त्यसलाई एक अवसरको रुपमा लिए । त्यति बेला खाद्यन्न वितरणदेखि ठूलो परिमाणमा रगतको संकलन गर्ने काम गर्यो । जसबाट सर्वसाधरण जनताले फाइदा लिए। यसबाहेक नेपाल सरकारलाई कोरोना महामारीको समयमा औषधी लगायतआवश्यक सामाग्री खरिदको लागि करिब ५३ लाख सहयोग गयौँ । विभिन्न पोजेक्टहरु लिएर काम गयौँ । स्वास्थ्य सामाग्री वितरण गर्यौँ । सकेसम्म र देखेसम्म सेवा गरेका थियौँ ।

अब टियू ब्लड बैंकको विषयमा कुराकानी गरौँ । तपाईहरुले स्थापना गर्न लाग्नु भएको टियू ब्लड बैंकको विषयमा जानकारी दिनुहोस न ।
आधुनिक जीवन शैली र उपचार पद्दतिमा आएको परिवर्तनका कारण अहिले राजधानीमा रगतको उच्च माग छ । तर, यहाँ भइरहेका ब्लड बैंकले माग अनुसार रगत आपूर्ती गर्न सकिरहेको छैन । रगत अभावले गर्दा कति बिरामीको मृत्यु भैरहेको छ भने कति बिरामीको शल्यक्रिया रोकिन पुगेको छ । राजधानीमा भैरहेको रगत अभाव पूरा गर्ने उदेश्यले हामीले टीयूसँगको सहकार्यमा टियू ब्लड बैंक स्थापना गर्न लागेका छौ । नयाँ ब्लड बैंकको स्थापना भएपछि राजधानीमा भैरहेको रगत अभाव पूरा हुने छ । उक्त ब्लड बैंक चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा छौँ । लायन्स क्लबले त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको ३ रोपनी जग्गामा नयाँ र आधुनिक प्रविधियुक्त भवन निमार्ण समेत गरिसकेका छ । मानवीय सेवाको भावनासाथ हामीले ब्लड बैंक स्थापना गर्न लागेका छौँ । अबको केही महिनाभित्रै सञ्चालन गर्ने तयारी छ । यो नेपालकै पहिलो ए क्लास ब्लड बैंक हो ।

अन्तर्वार्ताको पूरा भिडियो:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार