जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।

थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो । गत बिहीबार हृवीप उल्लंघन गरेको भन्दै पदमुक्त गरिएको थियो । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेका थिए ।

जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए ।

उनको रिटमा २३ जेठमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो । एउटा खास कामका लागि जारी भएको हृवीप, सो खास कार्य हुन नसकी परिस्थिति परिर्वतन भएको स्थितिमा भएको कामबाट राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिन सक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको अन्तरिम आदेशमा उल्लेख थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार