नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब नपाएको भन्दै उनीहरुले सोमबार बिहान प्रशासन शाखा अगाडी आन्दोलन गरेका हुन् । उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् ।

माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए ।

‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’ उनले भने । फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालको भनाई छ ।

आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनको भनाई छ । कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । १० दिन ड्युटी गरेर ७ दिन क्वारेन्टाइन बस्न भनेको तर सो अवधिलाई विदा जनाएर तलब नदिँदा आफूहरु मारमा परेको उनले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार