गुमेको आँखाको ज्योति फर्कदा म्याग्दीका मोतियाविन्दु पीडित दङ्ग

काठमाडौँ :  नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।

स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ”, उनले भने ।

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो ।

हिमालयन आँखा अस्पताल पोखराका डा। अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

शिविरमा आएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताए । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

“आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, । शल्यक्रियापछि दुवै आँखा देख्ने भए । अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु”, उनले भने ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले आँखा देख्न छाडेको तीन वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गरेका थिइनन् । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेको थिइन”, उनले भनिन्, “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि सस्तोमा शल्यक्रिया गरेर गुमेको ज्योति फर्कियो ।”

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्नका लागि पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए । “एकजनाको आँखाको शल्यक्रिया गर्न रू २० हजार र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ”, उनले भने । धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दुको हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार