बागमतिमा माओवादीलाई साथ नदिने कांग्रेसको संकेत

मकवानपुर । बागमती प्रदेशमा सत्तागठबन्धनभित्र खटपट देखिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि विवादसुरु भएको हो।

बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरु आज कुनै पनि हालतमा बैठकमा उपस्थित हुन नसक्ने प्रस्ट पारे । उनका अनुसार कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् ।

प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । तर साढे २ बजेसम्म पनि कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गरेका छैनन् ।

कांग्रेस संसदीय दलका उपनेता चित्रकारले भने, ‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो, हाम्रा सांसद काठमाडौंमै छन् । आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना छैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार