गर्मीमा देखिने संक्रमणबाट बालबालिकालाई कसरी जोगाउने ?

काठमाडौँ – मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ ।

गर्मीयाममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने गर्छन् । जसका कारण बालबालिकामा विभिन्न संक्रमण हुने सम्भावना बढेर जान्छ ।

गर्मीमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय:

झाडापखाला

झाडापखाला गर्मी मौसममा अधिकांशमा देखिने समस्या हो  । यो भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ ।

झाडापखाला भएमा आमाको दूध साविकभन्दा धेरै खुवाउनुपर्छ । त्यस्तै, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्छ । त्यसैगरी, झोलिलो खानेकुरा, गेडागुडीको झोल आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दूध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सक कहाँ लैजानुपर्छ ।

भाइरल ज्वरो

गर्मी मौसममा बालबालिकामा एक्कासि ज्वरो आउने समस्या हुन्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक हुन्छ । सामान्यतया, पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा सकेसम्म छिटो अस्पताल लानुपर्छ ।
ज्वरो आएको समयमा बच्चाको लुगा खोलेर पानीपट्टी गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नुपर्छ । यसरी बच्चालाई सहज अवस्थामा ल्याउन सकिन्छ । तर, जथाभावी एन्टिबायोटिक औषधि खान दिनुहुँदैन ।

भाइरल इन्फेक्सन

गर्मीबाट बच्ने नाममा चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना बढेर जान्छ ।जसले गर्दा बच्चामा ब्रोंकाइटिस हुने तथा श्वासप्रश्वासमा समस्या देखिने हुन सक्छ ।

अन्यको तुलनामा बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ, गर्मी मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले बढी सताउने गर्छ ।

गर्मी मौसममा बालबालिकामा रुघाखोकीको जोखिम बढी हुने गर्छ । त्यस्तै, बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्ने आदी समस्या देखिन्छन् ।

जोगाउने तरिका

गर्मी मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । भिडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, फोहर पानीको सम्पर्कबाट टाढा राख्ने र खानपानमा ध्यान दिने हो भने बालबालिकामा आउनसक्ने स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार