संवैधानिक आयोगलाई जागिर खाने थलो बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुने भन्दै सचेत गराए।

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि संवैधानिक आयोग गठन गरिएका हुन्। उनले सबै आयोगले त्यसैअनुसार काम गर्नुपर्ने स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगसँग आग्रह गरे।

उनले भने, ‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्न हुँदैन। त्यो उपलब्ध गराउनुपर्छ। आयोगहरूले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ जिम्मेवारी पूरा गर्नुपर्छ।’

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए।

‘हामीले यस्तो दिन ल्याउन सकौं कि मुस्लिम, मधेशी, थारू, जनजाति वा कुनै पनि समुदायलाई अब कुनै आरक्षण र संरक्षण जरुरी छैन। हामी सबै ठाउँमा प्रतिस्पर्धा गर्न सक्षम भयौं। अब यी आयोग जरुरी छैन भन्ने घोषणा गर्ने बनाउने हो। अनन्त कालसम्म आयोग रहनुपर्छ भन्ने मानसिकता भयो भने त्यहाँ विभेद छ भन्ने बुझ्नुपर्छ।’

उनले आयोगका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए। कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र संवर्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार