कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका ७ को हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको डीएसपी चन्दले बताए ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका-  ९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।ट्याक्टर चालक भजनी नगरपालिका ९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार