नारायणी रंगशालालाई व्यवस्थित बनाउन आरिफको आग्रह

बारा । विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमका वीरगञ्जका खेलाडी आरिफ शेखले वीरगञ्जस्थित नारायणी रगंशालालाई व्यवस्थित बनाउन महानगरसँग अनुरोध गरेका छन् ।आइतबार सिमरा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आरिफले वीरगञ्ज महानगरले व्यवस्थित स्टेडियम बनाउन सके आफूजस्तै धेरै क्रिकेट खेलाडी उत्पादन गर्न सकिने बताए ।

वीरगञ्ज महानगरले विश्वकप छनोटमा परेका पर्साका खेलाडीद्वय दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई सम्मान स्वरूप करिब ३ लाख मूल्य पर्ने यामाहा कम्पनीको एफजी मोटरसाइकल एक–एक थान प्रदान गर्ने निर्णय गरेको छ ।

आरिफले महानगरले खेलाडीहरूलाई सम्मान गरेर सबै खेल प्रेमीहरूलाई प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । ‘मेयरज्यूसँग म आग्रह गर्न चाहन्छु नारायणी रंगशालालाई व्यवस्थित बनाएर त्यहाँ फेरि पनि क्रिकेट खेल सुरु गर्न सकौँ । यसले आउने जेनेरेसनलाई पनि प्रोत्साहन मिल्नेछ । पर्सा जिल्लाबाट धेरै क्रिकेट खेलाडी उत्पादन गर्न सक्छौँ,’ खेलाडी आरिफले भने, ‘क्रिकेट खेलका लागि प्रदेश सरकारहरूले पनि हरेक प्रदेशमा एउटा–एउटा व्यवस्थित स्टेडियम बनाइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार