ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।  दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । यता हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । दुबै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए ।

दशरथ रंगशाला मै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो जितको खोजीमा रहेका दुबै टोलीले पहिलो खेल बराबरी खेलेका थिए ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको लिगमा विजेताले ७५ लाख पुरस्कार पाउने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार