मनिषलाई पुरुषतर्फको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाण्डौ – फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।

प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनोटमा इराकसँगको खेलमा उत्कृष्ट गोल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सँगको खेलमा पनि गोल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि पनि जिताएका थिए ।

मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार