प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता

'प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी'

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।  मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार