राष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनलाई ‘क्रस भोटिङ’को डर

'लोकतन्त्र र संविधानको रक्षा गर्ने दुवै उम्मेदवारको बाचा'

काठमाडौँ : सम्भावित ‘क्रस भोटिङ’लाई मध्यनजर गर्दै राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनले प्रदेशदेखि संघीय सांसदसम्म निगरानी बढाएको छ । आर्थिक वा अन्य प्रलोभनमा एमालेले ‘क्रस भोटिङ’ गराउन सक्ने जोखिम देखिएको भन्दै आठ दलका शीर्ष नेताले राष्ट्रपति निर्वाचनमा मतदाता रहेका दुवै तहका सांसदमाथि पार्टी संयन्त्रबाटै निगरानी थालेका हुन् ।

गठबन्धनले एमाले उम्मेदवारका पक्षमा मत जान नदिन प्रदेशदेखि केन्द्रसम्मका सांसदलाई अभिमुखीकरण कार्यक्रमसँगै निगरानी बढाएको हो । गठबन्धनले संघीय सांसदलाई राजधानीमा केन्द्रित गराएको छ । त्यस्तै, प्रदेश सांसदहरूलाई प्रदेश मुकाममा केन्द्रित गरेको छ ।

के भन्छन् रामचन्द्र पाैडेल ?

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् ।

यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे ।

पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।”

पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट पारे।

सुवास नेम्वाङ के भन्छन् ?

राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुख नेम्वाङले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने दाबी गरे । ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ’ उनले भने ।

नेम्वाङले आफूले पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण गरिसकेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार