सन्तानेश्वरमा निसन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

काठमाडौं स् एकमहिना लामो श्री स्वस्थानी व्रतका बेला ललितपुरको सन्तानेश्वर र कालेश्वरमा लागेको मेला माघ शुक्ल पूर्णिमाका दिन आइतबारबाट सकिँदै छ।

श्रीस्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार झरुवारासीमा रहेको सन्तानेश्वर र गोटीखेलमा रहेको कालेश्वरमा सतिदेवीको अंग पतन भएको हो।

भगवान् शिवले मृत अवस्थामा रहेकी सतिदेवीको शरीरलाई बोकेर हिँड्ने क्रममा नेपालको ऊँकारेश्वरमा सतिदेवीको उपल्लो ओठ पतन भएको थियो।

श्रीस्वस्थानी कथामा उल्लेख भए अनुसार कालेश्वर महादेवस्थानमा सतिदेवीको घाँटी पतन भएको विश्वास छ। पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको सो व्रतका बेला आसपासका क्षेत्रबाट थुप्रै भक्तजनहरुको उपस्थिति रहेको थियो।

सन्तानेश्वर मन्दिरमा आइतबार पुर्णिमाका दिन स्वस्थानी व्रतको उद्यापनसहित सामूहिक व्रतबन्ध पनि हुन लागेको सन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्धन सेवा संघले जनाएको छ।

संघका अध्यक्ष विनोद खड्काका अनुसार करिब १ सय जनाको सामूहिक व्रतबन्ध गरिनेछ। यसैगरी निसन्तान दम्पत्तिलाई सन्तान प्राप्ति होस् भन्ने कामनासहित महाप्रसाद पनि आइतबारै खुबाइँदै छ। यस्तै, सन्तानेश्वर विराट ज्ञान महायज्ञको समापन र सामूहिक पूजा पनि गरिन लागिएको उनले बताए।

एकमहिना लामो श्री स्वस्थानी ब्रतको उद्यापनका बेला एक महिनासम्म व्रत बस्नेले सुपारी, जनै,अक्षता, बेलिपुष्प, पान,मसला आदी देवी स्वस्थानीलाई चढाउने परम्परा छ। मध्यान्ह धुप वत्ति बाली घरघरमा वालुवाको शिव लिङ्ग बनाई, बीचमा ओमकार लेखी पूजाअर्चना गरिने परम्परा छ।
पुजाका समय चन्द्रावति र डोलेहरुको मूर्ति बनाई खड्कुलोमा पानीले भरी, स्वस्थानीको कथालाई उतार्दै क्रमैसँगले दियो, कलश र गणेशको पूजा आजा गर्ने गरिन्छ।

स्वस्थानीको उद्यायापन पूजामा स्वस्थानीको कथाका कुराहरुलाई उतारी दियो कलश र गणेशको पूजा गरिन्छ। पूजापछि प्रत्येक वस्तुको १ सय आठ चढाउने चलन छ। पूजा सकिएपछि प्रत्येक आठ सामग्री श्रीमानलाई दिने चलन छ। श्रीमान नभए छोरालाई र छोरा नभए मित छोरालाई दिन प्रचलन छ। यदि त्यो पनि नभए नजिकको खोलामा बगाउने परम्परा नेपाली समाजमा छ।

एक महिनाको अवधिमा घरघरमा श्रीस्वस्थानी कथा वाचनका क्रममा जम्मा भएको फूल प्रसाद पनि नजिकैको खोलामा विसर्जन गरिन्छ। एक महिनाको अवधिमा कथा सुन्ने तथा परमेश्वरी स्वस्थानीको पूजा गर्ने चलन छ।

श्री स्वस्थानी व्रतको बेला हरेक दिन मध्यान्हको समयमा भगवान् शिवको आराधना गर्दै , श्री स्वस्थानी देवीको पनि स्तूति गर्ने गरेको पण्डितहरू बताउँछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार