राष्ट्रिय सहमतिका लागि छलफल गर्न तयार छौँ : कांग्रेस

'राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय'

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए।

उनले संसदभित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरू राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको उनको भनाइ छ।

सचेतक लेखकले भने, ‘नेपाली कांग्रेसको कार्य समितिको बैठक बस्यो। आगामी २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम रहेको छ। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ। अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ। संसद भित्र व्यस्तता भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ। राष्ट्रियसभाको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा पनि हामी अरू राजनीतिक दलहरूसँग छलफलका क्रममा छौँ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार