आरजु राणा देउवा नयाँ दिल्लीमा

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका कांग्रेस निकट स्रोतले बताएको छ । चुनावअघिको गठबन्धन टुटेसँगै कांग्रेस सत्ता बाहिर छ ।

दिल्लीमा आरजुले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपालमा मन्त्रिपरिषद्को विस्तार र राष्ट्रपति तथा सभामुखको निर्वाचनको विषयमा छलफल चलिरहेका बेला आरजु भारत पुग्नुलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा माओवादीले सहयोग गर्ने अपेक्षा गरेको छ । कांग्रेसले सभामुख पाए आफू नै सभामुख बन्ने र राष्ट्रपति पाए पार्टी सभापति शेरबहादुर देउवालाई बनाउने आरजुको आन्तरिक तयारी छ । भारत भ्रमणको विषयमा आरजुले यो विषय उठाउने स्रोत बताउँछ ।

यसअघि गत पुस २० गते कांग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिको भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो ।

शनिबार विभिन्न मिडिया सम्पादकहरुसँगको छलफलमा सभामुख र राष्ट्रपतिमा सत्ता साझेदार सात दलबीच कुनै सहमति नभएको प्रधानमन्त्री प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सभामुख र उपसभामुख निर्वाचनका विषयमा छलफल गर्न माघ ३ मा प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक बोलाएका छन् । यसअघि राणा असोज २६ गते पनि स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार