जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ । हालसम्म ६८ जनाको शव घटनास्थलबाट निकालिसक्दा उनको पनि मृत्यु भएको पुष्टि भएको हो  ।   सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन् । उनको शवको सनाखत भइसकेको छ। प्रहरीले पहिचानको लागि उनको शवलाई ‘बडी नम्बर ५३’ उल्लेख गरेको छ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए। २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए।

उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक/सम्पादकका थिए । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका नेता पनि थिए।

उनी पोखराबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार