मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति ना३९प १४३९ नं. को स्कुटर दुर्घटना भएपछि गम्भीर घाइते भएका तीन जनालाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् ।

धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३.३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए ।

स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरिबाट गएको प्रहरी टोलीले तीन जना गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागी चितवन पठाइएको थियो ।

दुर्घटनापछि ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीय करिब ४०÷५० जना भेला भएर राजमार्ग अवरोध गरेका थिए । प्रहरीले दुर्घटनाको कारण नखुलेको, स्कुटर पूर्ण रूपमा क्षति भएको र घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको भन्दै अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार