सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा न्यायाधीश नन्द र ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

लामिछानेलाई  भदौ २३ मा  नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । सन्दीपविरुद्ध एक किशोरीले गत भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको आरोप छ ।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार