उपत्यकाको फोहर व्यवस्थापन एक हप्ता प्रभावित हुने

काठमाडौँ– बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार