खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

म्याग्दी जिल्लामा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । विगतका वर्षहरुमा यतिबेला खेतवारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन् । खेतीबालीको यो समयमा कामको व्यस्तताले छट्पटीमा देखिने अहिले भने ओछ्यानमा छट्पटाउँदै कोरोना महामारीसँग लडिरहेका छन् ।

मध्य जेठको याम शुरु हुनै लाग्दा हिमाली जिल्ला म्याग्दीमा खेतीपातीको कामले भ्याइ नभ्याइ हुन्छ । जेठको आधाआधी भनेको बेसीका खेतवारीमा मकै गोड्ने, बाँझो जमिन जोत्ने, मल हाल्ने, धान, कोदाको विऊ राख्ने र उच्च लेकाली क्षेत्रहरुमा रोपाइँ गर्नका लागि किसानहरु विहान उज्यालो नहुँदै उठेर राति अवेरसम्म व्यस्त हुने समय हो ।

यो वर्ष कोरोना सङ्क्रमणले उनीहरुको यो व्यस्त समय पनि खाइदिएको छ । त्यसैले किसानहरु अहिले खेतबारीमा देखिँदैनन्, अस्पताल या घरमै एकान्तबासमा छन् । कतिपय कोरोना भाइरससँग लढिरहेका छन् ।

कोरोनाको सङ्क्रमणका कारण ग्रमिण क्षेत्रका वस्तीवस्ती प्रभावित भएका छन् । खेतवारीमा पुगेर धानको विऊ राख्ने, मकै गोड्ने,कुलो र पानीको व्यवस्था मिलाउने समय हो यो । त्यस्तै अझ उच्च लेकाली क्षेत्रमा त हलो र कोदालो बोकेर रोपाइँ गर्न जाने समय पनि भैसक्यो ।

विश्वव्यापिरुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरले म्याग्दीको बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा सङ्क्रमण तीव्र रुपमा फैलिएको हुँदा खेतबारीमा काम गर्नुपर्ने समयमा किसानहरु विरामी भएर सुतेका छन् । किसान नै विरामी भएपछि ग्रामीण भेगको कृषि कर्म प्रभावित बनेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

“गाउँमा अब धान रोपाइँको काम शुरु हुँदैछ, किसानहरु विरामी भएर ओछ्यान परेका छन्” मालिका गाउँपालिका– ५ देविस्थानका वडाअध्यक्ष पिपला बूढाले भने “घरघरमा सङ्क्रमित देखिन थालेपछि खेतीपातीको काम प्रभावित हुनेभएको छ ।”

“गाउँमा खेतीपातको काम शुरु भएको छ, घरको मुली कोरोनाका कारण अस्पतालको शय्यामा बसेको चार दिन भयो” बेनी अस्पतालमा उपचाररत मंगला गाउँपालिका– ३ बरंजाका एक सङ्क्रमितले भने, “एकातिर मरिन्छ कि भन्ने डर, अर्कोतिर खेती किसानीको खसखस्, दोहोरो चिन्तामा पिरलिएको छु ।”

म्याग्दीमा केही दिनअघिदेखि निरन्तर वर्षा भैरहेको छ । लेकाली क्षेत्रमा रोपाइँको माचो शुरु हुन थालेको छ तर दुई साता अघिदेखि ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमितको ग्राफ ९० प्रतिशत भन्दा माथि उक्लिएपछि गाउँलेहरु झस्किएका छन् ।

ग्रामीण क्षेत्रमा परीक्षणको काम तीव्र पारिएको छ । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

“बजार क्षेत्रमा नयाँ सङ्क्रमित थपिने क्रम घटेपनि ग्रामीण क्षेत्रमा बढेको छ, ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन्”, प्रमुख लम्सालले भने ।

निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको बेनी अस्पतालका प्रमुख डा। जितेन्द्र कुवँरले बताए ।

गत बुधवार पछिल्लो २४ घण्टामा म्याग्दीका बुधबार म्याग्दीमा १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७७२ जना पुगेको छ । जिल्लामा ५५० जना सक्रिय सङ्क्रमित पुगेका छन् भने १६४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्यले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ९४, मालिका गाँउपालिकामा १, अन्नपुर्ण गाँउपालिकामा ४, मंगला गाँउपालिकामा ४, धौलागिरी गाँउपालिकामा ३, रघुगंगा गाँउपालिकामा ७ र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना पहिचान भएको छ । त्यसैगरी एन्टिजेन प्रविधिबाट बेनी नगरपालिकाका ५, रघुगंगा गाउँपालिकाका २७, मालिका गाँउपालिकामा १, अन्नपुर्ण गाउँपालिकाका ३६ जना गरी जम्मा १५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित मध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । रिपोर्ट आउन बाँकी रहेका मध्ये ९८ प्रतिशत व्यक्तिहरु ग्रामीण क्षेत्रका रहेका छन् ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा सङ्क्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।

एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्रमित छन् ।

अन्नपूर्णको दोवामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्रमितको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ ।

सदरमुकाम बेनीका चोक, गल्ली र घरहुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाबाट ग्रामीण भेगका मानिसहरु प्रभावित भएका मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

जिल्लाका मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुमा पनि कोरोनाका सङ्क्रमण बढ्दो मात्रामा रहेका स्थानीय तहका प्रमुखहरुले बताएका छन् । धेरै लक्षणहितका बिरामी बढिराखेका रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । कोरोना सङ्क्रमण पश्चात उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायतमा मृत्यु हुनेमा पनि प्रायः सबै जसो ग्रामीण क्षेत्रका छन् ।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनले गाउँमा बिरामीहरु बढिराखेको रसमयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नआउँदा धेरै सङ्क्रमणको जोखिम बढेको बताए ।

“कोरोना निकै फैलिन थालेको छ, गाउँमा मानिसहरु बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, वैशाखमा बिहे भोज भतेर भयो, भिडभाड हुने गतिविधिमा सबै गाउँले सहभागी भए,” उनले भने, “त्यसबाटै सर्बत्र कोरोना सङ्क्रमण फैलिन थाल्यो, अहिले गाउँमा धेरै मानिसहरु बिरामी छन् ।”

त्यस्तै रघुगंगा र धौलागिरि गाउँपालिकामा पनि कोरोना तीव्र रुपमा फैलिएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाका विभिन्न गाउँहरुमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरै जसोमा सङक्रमण पुष्टि भएको स्थानीयको भनाई छ ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना सङ्क्रमण निकै तीव्र गतिमा फैलिएको पाइएकोे कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवरले बताए ।

गाउँगाउँमा सङ्क्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन् । उनीहरुले स्वास्थ्य सामाग्री, औषधी र सङ्क्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर विरामीहरुको घरदैलोमा पुगेपछि सङ्क्रमितहरुमा आत्मबल बढेको पाइएको छ ।

“हामी कोरोना सङ्क्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर सङ्क्रमितको घरदैलोमा नै पुगेका छौँ” बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले भने ।

दुईसाता यता जिल्लाका ग्रामीण क्षेत्रमा सङ्क्रमणको दर यसरी बढेपनि सदरमुकाम बेनी बजारमा भने सङ्क्रमण दर घटेको छ । सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण रहेको छ ।

कूल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्ब्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार