कपिलवस्तु कारागारबाट ७ जना कैदी रिहा

गणतन्त्र दिवसको अवसरमा शनिबार कपिलवस्तु कारागारमा रहेका ७ जना कैदी रिहा भएका छन् ।

कपिलवस्तुका ३ जना, रुपन्देहीका ३ जना र सुर्खेतका एक जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर राकेश पाण्डेयले बताए ।

कैदमुक्त भएका कपिलवस्तुका ३ जनामध्ये २ कर्तव्य ज्यान, १ जना हातहतियार तथा खरखजाना, रुपन्देहीका ३ जनामध्ये २ जना सवारी ज्यान, १ जना कर्तव्य ज्यान तथा सुर्खेतका १ जना कर्तव्य ज्यान मुद्दामा कैद जीवन बिताइरहेका थिए ।

मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर पाण्डेयले बताए ।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर पाण्डेयले जानकारी दिए । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय २४ कैदी बन्दीमध्ये आज ७ जना कैद मुक्त भए भने बाँकी ४ सय १७ जना कैदी बन्दी कारागारमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार