भूटानमा बर्षौदेखि थुनिएका छन् राजबन्दी

सुपारी बेच्न जाँदा जेल

सन् १९९० को सुरुवातदेखी आफ्नो पुस्तौनी थातथलो छाड्न बाध्य तुल्याएर लखेटिएका नेपालीभाषी भूटानी (लोत्साम्पा)मध्ये अधिकांश करिब दूई दशक नेपालमा शरणार्थी जीवन विताएर अहिले संसारका थुप्रै मुलुकमा पुर्नवसोवासमा गएका छन् । तर तिनकै थुप्रै आफन्तहरु भने भुटानका जेलहरुमा ३० वर्षयता थुनिएका छन् । ३० जना भन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् । राजबन्दीकै हैसियतमा बर्षौबर्ष जेल सजाय बेहोरेर पुर्वी नेपालका शरणार्थी क्याम्पमा फर्कनेहरु अझै पनि उत्तिकै भेटिन्छन् भने जेलमा थुनिएको छोरो कुनै दिन फर्कला भनेर पर्खीबस्नेहरु पनि उत्तिकै छन् ।

जयगाउँ(भारत)— झापा, बेलडाँगीबाट झन्डै ५० किलोमिटरको दूरीमा पर्छ — नेपाल–भारतको पूर्वी सीमा, काँकडभिट्टा नाका । नेपाली सरहद पार गरेर झण्डै १८० किलोमिटर सडक यात्रा तय गरेपछि पुगिन्छ — भारत–भूटानबीचको जयगाउँ–फुन्चोलिङ नाका । फुन्चोलिङबाट पनि झण्डै १५० किलोमिटर पर पर्छ, भूटानको सदरमुकाम थिम्पू । अनि थिम्पू नाघेर मात्रै पुगिन्छ— चेङबाङ जेल । यसरी झण्डै ३८० किलोमिटर परको एउटा जेलमा वर्षौं वर्षदेखी थुनिएर रहेका आफ्ना छोराहरू भेट्न बेलडाँगीको शरणार्थी शिविरबाट वर्षौ वर्षदेखी धाइरहेका छन्, बाआमाहरू ।

यो लामो र असहज बाटो नाघ्दै भारत–भूटान सीमावर्ती विन्दु फुन्चोलिङसम्म पुग्ने दुई दर्जनभन्दा बढी आफन्तको ताँतीमा उभिएकी छिन् — ६० वर्षीया डम्बरकुमारी अधिकारी । फुन्चोलिङ–जयागाउँ नाकाको यही बाटो भएर ३० वर्षअघि देशनिकालामा परेकी आमा डम्बरकुमारी अहिले यही बिन्दुमा उभिएर ‘बिन्ती’ गरिरहेकी भेटिन्छिन् — जेलमा रहेको एक्लो छोरो भेट गराइपाऊँ भन्दै । भूटानी प्रहरी–प्रशासनले कहिले सुनुवाइ गर्छन्, तर धेरैजसो सुनेको नसुन्यै । “त्यो फुन्चोलिङ ढोकामा मात्रै उभिन पाउँदा पनि छोराको नजिकै पुगे जस्तो हुन्छ”, चेम्गाङ जेलमा १४ वर्षदेखि थुनिएको एक्लो छोरो ओमनाथको सम्झना गर्दै डम्बरकुमारी भन्छिन्—“झण्डै दुई वर्षयता कोरोनाको कारण भूटान छिर्ने अनुमति पाएकै छैन ।”

यो त भयो चेम्गाङ जेलको कुरा । जुन, राजधानी थिम्पूबाट ७ किलोमिटरको दूरीमा अवस्थित  भूटानको एकमात्र केन्द्रीय तहको जेल हो । सेनाको थुना केन्द्रहरू सहित अन्य डेढ दर्जन जेलको वस्तुस्थितिबारे स्वयं अन्तर्राष्ट्रिय रेडक्रस पनि बेखबर छ । किनभने दुईपक्षीय सहमतिमा रेडक्रसले चेम्गाङ बाहेक अन्यत्र भ्रमणमा जानै पाउँदैन, त्यही पनि एक दशकदेखि भ्रमणमा बन्देज लगाइएको छ । केन्द्रिय जेलबाहेक साम्दुक जोङ्खर जेलमा तेन्जिङ गावा जाङ्पो सन् २००९ देखि आजीवन कारावासमा छन् भने मोंगर जेलमा युगेन पेल्देन पनि २००९ देखि १४ वर्षकै जेल सजायमा छन् । पूर्वी भूटानमा विद्रोही बनेका भिक्षुहरूलाई समेत यो जेलमा राखिएको छ ।

फुन्चोलिङस्थित एक निजी स्कूलमा प्रिन्सिपल रहेकी डेचेन वाङ्मोलाई सन् २००९ यता पारोको ‘ओपन एयर प्रिजन’मा राखिएको छ । राष्ट्रसंघीय मानवअधिकार रिपोर्ट (२०११) मा समेत उल्लेख गरिएकी वाङ्मो ड्रूक नेशनल कंग्रेससँग सम्पर्कमा रहेको आधार देखाएर भूटानको गृह मन्त्रालयको निर्देशनमा ‘पक्राउ पुर्जी विनै’ हिरासतमा लिइएको जनाइएको छ । राजनीतिक गतिविधिमा लागेको भन्दै उनलाई १५ वर्षको सजाय दिइएको छ ।

फुन्चोलिङस्थित एक निजी स्कूलमा प्रिन्सिपल रहेकी डेचेन वाङ्मोलाई सन् २००९ यता पारोको ‘ओपन एयर प्रिजन’मा राखिएको छ । राष्ट्रसंघीय मानवअधिकार रिपोर्ट (२०११) मा समेत उल्लेख गरिएकी वाङ्मो ड्रूक नेशनल कंग्रेससँग सम्पर्कमा रहेको आधार देखाएर भूटानको गृह मन्त्रालयको निर्देशनमा ‘पक्राउ पुर्जी विनै’ हिरासतमा लिइएको जनाइएको छ । राजनीतिक गतिविधिमा लागेको भन्दै उनलाई १५ वर्षको सजाय दिइएको छ ।

जेलका भित्तामा ‘गीतामन्त्र’

दुई वर्षअघि मात्रै भूटानको केन्द्रीय जेल ‘चेम्गाङ’ बाट छुटेर आएका एकजना कैदीले भूटानी अधिकारवादी नेता टेकनाथ रिजालका हातमा केही थान तस्वीर थमाए, जसमध्ये एउटामा थियो — भित्तामा कुँदिएको गीतामन्त्र ।

ती कैदीले जेलभित्र रहेका साथीभाइको सन्चो–बिसन्चो त सुनाए नै, चेम्गाङको त्यो कोठा, भित्तो र वरपरको सजीव दृश्य देखाएर जेल जीवनको आफ्नै इतिहासमा नेता रिजाललाई समेत छिराइदिए । सन् १९८९ देखि झण्डै एक दशक भूटानी जेलहरूमा कैदी जीवन बिताएका रिजालले नै चेम्गाङ जेलको त्यो भित्तोमा गीतामन्त्र कोरेका थिए । “जेलमा छँदा नेपालका शरणार्थी शिविरहरूमा रहेका बाआमा, छोराछोरी वा आफन्त बितेको खबर ढिलो गरी पाइन्थ्यो, भूटानभित्रै पनि कतै कुटिएका र मारिएका नेपालीभाषीबारे थाहा हुन्थ्यो,” जेल जीवनको मुश्किल क्षण सम्झँदै रिजालले सुनाए, “हो, तिनै मृत आत्माको शान्ति प्रार्थना गर्न वा आइपरेको आपत्विपत्मा धैर्य हुनलाई त्यही गीतामन्त्र लेखिएको भित्तो छेवैमा उभिएर हामी प्रार्थना गथ्र्यौं । आज पनि त्यो भित्तोमा कुँदिएको मन्त्र यथावत् रहेको देखेर म विह्वल बनें, वर्षौं वर्षदेखि जेलभित्र रहेका कैदीको उन्मुक्तिको प्रार्थना समेत गरें ।”

यो सम्झनाको तस्वीरसँगै रिजालले आफू जेल छँदाका साथीभाइ सम्झिए— गंगाराम ढकाल, रामबहादुर राई, भक्तबहादुर राई, हर्कबहादुर गुरुङ, प्रकाश मगर, छेवाङ रिन्जिन आदिआदि । आश्चर्य लाग्ने सूचना के थियो भने यी सबै साथीभाइहरू झण्डै ३० वर्षयता अझै चेम्गाङमा राजनीतिक बन्दी भएरै थुनिएका रहेछन्, जसकाबारे बाहिरी संसार ‘बेखबर’ जत्तिकै छ ।

सन् ९० को दशकमा भूटान राज्यले दक्षिणी भूटानमा रहेका नेपालीभाषी (ल्होत्साम्पा) माथि शुरू गरेको ‘जातीय सफाया’को ज्यादतीमा परेर एक लाखभन्दा बढी भूटानी नागरिक शरणार्थी बनेरै  नेपाल आइपुगेको वृत्तान्त अब ‘इतिहास’ बनिसकेको छ । नेपाल आएकामध्ये करिब ७ हजारबाहेक सबैजसो भूटानी शरणार्थी बाहिरी विश्वमा पुनर्वासमा गइसकेका छन् । शरणार्थीलाई खाद्यान्न, शिक्षा, स्वास्थ्यको भरथेग गर्न र उनीहरुको भाग्य तथा पहिचान निर्धारण गर्ने भनेर आएका राष्ट्रसंघीय शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, विश्व आप्रवासन कार्यक्रम (आईओएम) जस्ता निकाय शरणार्थी शिविरबाट बाटो लागिसकेका छन् । यसबीचमा अमेरिकाको विदेश मन्त्रालयले निकाल्ने वार्षिक मानवअधिकार प्रतिवेदनमा ‘भूटानभित्रको मानवअधिकार र न्यायिक प्रवद्र्धन सन्तोषजनक रहेको’ भन्दै स्याबासी आउन थालिसकेको छ । तर, भूटानभित्र राजनीतिक उथलपुथल ल्याउनमा ‘कारक’ बनाएर आजीवन थुनामा राखिएका निर्दोष आम नागरिक भने कैदमै छन् जसबारे न शरणार्थीको ‘आश्रयदाता मुलुक’ नेपालले केही बोल्ने गरेको छ, न बाहिरी विश्वका मञ्चहरूमा कहींकतै कसैको आवाज सुनिन्छ ।

वर्षौंवर्ष थुनिएर फर्कनेहरू

भूटान, साम्ची मूल घर भएका मनबहादुर खालिङ राई २१ वर्ष ३ महीनासम्म चेम्गाङ जेलमा थुनिएर जब आफ्ना घरपरिवार भेट्न झापा, दमकको शरणार्थी शिविर आइपुगे— उनी फेरि पनि अर्को एकलासको जेलमा पुगेजत्तिकै भए । शिविरमा न थिइन् श्रीमती, न छोराछोरी । उनका आमा, भाइ, बहिनी नेदरल्याण्ड पुगिसकेका थिए, तीन भाइ छोरा अमेरिका । “सन् २०१७ को शुरुआतमा म यता आउँदा यहाँबाट शरणार्थी दर्ता गर्ने चलन पनि हटिसकेको थियो । जेलनेल बसेर आएको म न त शरणार्थी सूचीमैं दर्तामा परें, न विदेशै जान सकेको छु”,झापा, दमकको बेलडाँगी शिविर थ्रीको सेक्टर ए–वान, ४३ छाप्रोमा भेटिएका मनबहादुरले सुनाए, “मसँग अहिले आईसीआरसीले दिएको मेरो चेम्गाङ थुना बारेको प्रमाण मात्रै छ, अरू परिचय–प्रमाण केही छैन ।”

सन् १९९२ मा शरणार्थी शिविर आइपुगेका मनबहादुर त्यसको तीन वर्षपछि जरूरी काम परेर आफन्त भेट्न भूटान गएका थिए । भूटान छिर्नासाथै ‘विगतमा राजनीतिक गतिविधिमा लागेको’ भन्दै पक्रेर उनलाई थुनामा हालियो । त्यसपछि न परिवार रह्यो, न पहिचान ।

अर्का ५० वर्षे टेकबहादुर मगर पनि बेलडाँगी–२ को डी ४५२७ छाप्रो छेवैमा टहलिरहेका भेटिए । उनी पनि २४ वर्षसम्म चेम्गाङ जेलमा थुनिएर सन् २०१६ को अन्त्यमा आफन्त खोज्दै बेलडाँगी शिविर आएका रहेछन् । “हाम्रो परिवार सन् १९९२ को शुरुआतमै शरणार्थी बनेर नेपाल आएको थियो, त्यसको ६ महीनापछि आफन्त फुपू भेट्न भूटान गएको थिएँ । एकाएक पक्राउमा परें, के–किन–कसरी भन्ने अवस्थै रहेन”, टेकबहादुर सम्झिन्छन् ।

२० वर्षे उमेरमा जेल परेका टेकबहादुर एकैचोटी ४४ बर्षमा जेलमुक्त भए । जेलमै छँदा एकपटक टेकबहादुरकी आमा छोरो भेट्न भनेर चेम्गाङ गएकी थिइन्, अरू आफन्त कोही कहिल्यै भेटिएनन् । जेलबाट निस्केर आमाबा, भाइबहिनी भएको ठाउँ खोज्दै जब टेकबहादुर बेलडाँगी शिविर आइपुगे, छानामा घाँस उम्रिसकेको बाँसको छाप्रो मात्रै उनले ‘आफ्नो’ भनेर पाए । आमाबा सहितका सबैजना अमेरिका उडिसकेका रहेछन् । “आज म निराश छु, एक्लो छु । जीवन जिउने आधार छैन, अब म एक्युरेट जीवन यसरी जिउँछु भन्नै पो सक्दिनँ”,टेकबहादुरले सुनाए, “मलाई देशद्रोहीको बात लगाइएको थियो । फुपू भेट्न र आफू जन्मे–हुर्केको ठाउँ घुम्न म भूटान गएको थिएँ, तर पक्रेर थुनेपछि थुनिहाल्यो । २४ वर्षको मेरो समय र जिन्दगी कसरी बित्यो भन्ने हेक्कै रहेन, बितिगयो ।”

टेकबहादुरका अनुसार चेम्गाङ जेलमा अहिले पनि मधुकर, मणिराज, रामबहादुर, ओमनाथ जस्ता साथीभाइ छँदैछन् । अरू पनि दुइ दर्जनभन्दा बढी नेपालीभाषी वर्षांैदेखि थुनिएर बसेकै छन् । शुरूमा थुनामा पर्दा पाँच केजीको फलामे रड खुट्टामा बाँधिदिएर, त्यही फलाममा उनेर जीउमा साङ्लो बाँधिएको ‘यातना’ बेहोर्दै कठिन समय बिताएको क्षण टेकबहादुरले भुल्न सकिरहेका थिएनन् । सन् १९९४ मा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) भूटान छिरेपछि मात्रै चेम्गाङ जेलमा कैदीले अलिक सहज जीवन जिउन पाएको उनी सुनाइरहेका थिए । “शुरूमा यातना निकै चर्को थियो” उनले भने, “दिउँसो भवन बनाउने, ढुङ्गा बाक्ने काम लगाउँथ्यो । पाकेको र केलाएको चामल कहिल्यै खान पाइएन, त्योबेलाको जेलको थिति सम्झन नि मन लाग्दैन ।’

भूटान, साम्ची, गोलाबजारमा जन्मे–हुर्केका दिलकुमार राई पनि भूटान सरकारले शुरू गरेको ‘जातीय ज्यादती’ खप्न नसकेर सन् १९९५ मा नेपाल आइपुगेका थिए । बुबा जहरसिंह र आमा सरुमा राईको साथ लागेर नेपाल छिरेका दिलकुमार आफूले सपनामा पनि नचिताएको ‘शरणार्थी चिनारी’मा बेलडाँगी शिविरमा भेटिए । पछि आफन्तलाई भेट्न भूटान गएका बेला सन् १९९६ मा उनी सिब्सुबाट पक्राउ परे र, थुनामा लगिए । उनलाई पनि भूटानको प्रहरी–प्रशासनले अरूलाई झैं ‘उग्रवादी–आतंकवादी’को अभियोग लगायो र, लगातार २० वर्ष ११ महीना चेम्गाङ जेलमा थुन्यो ।

“२०१७ को अक्टोबरमा म जेलबाट छुटेर बेलडाँगी शिविर आउँदा मेरो कोही थिएन । उसो त मलाई भेट्न जेलमा आफन्तहरू आएकै बेला अमेरिका जानेबारे सल्लाह लिन थालेका थिए, मैले पनि जेलमा परेको मलाई पर्खेर हुन्न भनेरै बिदा दिएको थिएँ”,बेलडाँगी थ्री, १९८ छाप्रोमा भेटिएका ५७ वर्षे दिलकुमारले सुनाए, “आज यहाँ मेरो कोही छैन, एक्लै छु । साथमा शरणार्थी परिचय पत्र मात्रै छ, अरू जीवन जिउने आधार केही छैन ।”

सन् १९९६ को नोभेम्बर २२ मा पक्राउ परेका उनी झण्डै एक वर्ष थिम्पूको जिल्ला जेल र त्यसपछि चेम्गाङ जेलमा थुनिएका थिए । “चेम्गाङ पुग्दैखेरि आईसीआरसी दर्तामा म २५३ नम्बर कैदी बनेको थिएँ । म त २१ वर्ष जेल बसेर आएँ, २८/३० वर्षदेखि थुनामै रहेका साथीहरू उतै छन् । म जेलबाट निस्कँदा झण्डै ३० जना राजबन्दी चेम्गाङमै थिए”,अहिले शिविरभित्रैको गेटेस्मनी चर्चका ‘पास्टर’ रहेका दिलकुमार सम्झन्छन् । अरूभन्दा पनि भूटानको जेलमा अन्तर्राष्ट्रिय रेडक्रसको भ्रमण शुरू भएपछि कैदीहरूको जीवनयापन केही सहज भएपनि ‘नदेखिने यातना’ आफूले समेत बेहोरेको उनले सुनाए । “सरकारले भनेको काम गर्नुपथ्र्यो, सडक वा भवन निर्माण यस्तै । रातमा दिसापिसाब गर्ने ठाउँ थिएन, रातमा सुत्ने कोठामा बाहिरबाट ताल्चा लगाइएकाले एउटा प्लास्टिकको बकेटमा दिसापिसाब गथ्र्यौं, अनि बिहान बाहिर फाल्थ्यौं”,उनले सुनाए ।

आईसीआरसीका प्रतिनिधि जेलमा भेट्न आउँदा ‘मानौं, तपाईंहरूको परिवार आज कुनै तेस्रो देशमा गयो र, तपाईंहरू अबको ५० वर्षपछि जेलबाट छुटेर आउनुभयो भने पनि हामी परिवारसँग मिलन गराउनेछौं’ भनेर झुटो आश्वासन दिने गरेको बारे दिलकुमार कहीं गएर सरोकार उठाउन चाहन्छन् । तर, यस्तो न्यायिक सरोकार सुनिदिने निकाय आज शिविरमा एउटै छैन, न गुनासो टिप्ने संयन्त्रै कतै छ ।

बेलडाँगी, सेक्टर डी वान, ८८ नम्बर छाप्रोमा बस्ने रुद्रबहादुर कार्की उमेरमा ६५ लागे । सन् १९९० को अन्त्यतिर भूटानको सर्वाङ, पिन्खुवामा बसोबास रहेकै बेला रुद्रबहादुर र उनका भाइ चन्द्रबहादुरलाई प्रहरी–प्रशासनले पक्राउ गरेको थियो । ‘हुलमुलमा लाग्न खोजेको, राजनीति गरेको’ जस्ता सनातनी अभियोग लगाएर रुद्रबहादुरलाई झण्डै ११ महिना सर्वाङ जिल्ला जेलमा थुनेपछि उनलाई छुट्कारा दिइयो । त्यसपछि उनले बेलडाँगी शिविरमैं आएर श्रीमती, छोराछोरी भेट्न पाए । उनका भाइ चन्द्रबहादुर भने १८ महिना जेल बसेर मात्रै नेपाल आउन सके । आज भाइ चन्द्रबहादुर सपरिवार अमेरिका पुनर्वासमा गइसकेका छन् भने दाजु रुद्रबहादुर शरणार्थी शिविरमै ‘एकल जीवन’ बिताइरहेका छन् । “मेरा एक छोरा, छोरी र श्रीमती अष्ट्रेलियामा छन्, एक छोरा भने अमेरिकामा छन्” रुद्रले भने, “बाहिर जाने प्रक्रिया चलेका बेला यता मेरी रोगी बूढी आमा मसँगै हुनुहुन्थ्यो, उहाँले आफ्नो अन्तिम दिन नेपालमै बिताउन चाहनुभयो । यसरी शुरूमा आमाका लागि म बसेको थिएँ, पछि तेस्रो देश जाने प्रक्रिया अघि बढिरहेकै बेला ममाथि शिविरमा झैझगडा गरेको आरोप लाग्यो । त्यहीबेला मेरो परिवार विदेशियो, म एक्लै यता रहें ।”

बुबा र तीन छोरा सँगै जेलमा

दागाना, भूटान मूल घर भएका ७४ वर्षीय मंगलध्वज सुब्बाको कथाव्यथा पनि उस्तै कारुणिक छ । भूटान छँदै सन् १९९० को मध्यतिर मिर्चुलाबाट मंगलध्वज पक्राउ परेका थिए, साथमा उनका तीन छोराहरू पनि पक्राउ परे । “अरू कारण केही थिएन । ‘तँ पार्टीमा लागेको रैछस्’ भनेरै प्रहरीले कुटपिट गर्न थाल्यो, कति त आँखैसामु कुटाइ खाएरै मरे पनि । अनि, ‘हो, म लागेकै थिएँ’ भन्नैप¥यो, ज्यान जोगाउन” बेलडाँगी शिविरमा बुढ्यौली बिताइरहेका मंगलध्वजले सुनाए, “मेरा छोराहरू धनराज, धनबहादुर र रणबहादुर पनि सँगै जेल परे ।”

जेठो छोरो धनराज भने १० महीनामै जेलमुक्त भएका रहेछन्, मंगलध्वज ८ वर्ष जेल बसेर निस्किए । अरू दुई छोराले साढे ८ वर्ष चेम्गाङमै थुना काटेपछि मात्रै ‘क्षमादान’ पाए । “जेलबाट निस्केर नेपालमा शरणार्थी बनेर आयौं, यता आएपछि मेरो परिवार, छोराहरू सबैजना विदेश गैसके । म भने बाहिर नजाने भनेरै बसेको छु” उनी भन्छन्, “बरु आफ्नो देश (भूटान) खुल्यो भने म त दागाना नै जान चाहन्छु ।”

भूटान, दागानाकै शान्तिराम आचार्य पनि चेम्गाङ जेलमा ७ वर्ष थुनिएर २०१४ को जूनमा नेपाल आइपुगेका हुन् । ‘ल्होत्साम्पा’ माथि भूटान सरकारको ज्यादती शुरू भएलगत्तै सन् १९९२ को मार्चमा झापाको माइधार हुँदै बेलडाँगीमा आएर बस्न थालेको आचार्य परिवारका केही आफन्त भने भूटानमै छुटेका थिए । “म २००७ जनवरीमा मामा भेट्नका लागि भूटान गएको थिएँ, अनाहकको राजनीतिक अभियोग लगाएर मलाई चेम्गाङमा थुनियो” शान्तिराम सम्झन्छन्, “जेलमुक्त भएर बेलडाँगी शिविरमा आइपुग्दा मेरा आमा सहितका आफन्त कोही थिएनन् ।”

शान्तिराम जेलमा छँदै शरणार्थी शिविरबाट भेटघाट गर्न गएका आफन्तले ‘अब कुनै तेस्रो देशमा जान सकिने’ संभावनाबारे जानकारी गराएका थिए । “म यहीं मर्न पनि सकौंला, तपाईंहरू आफ्नोबारेमा आफैं निर्णय गर्नुहोला भनेर भनेको थिएँ” शान्तिराम सम्झन्छन्, “नभन्दै म जेलबाट आउँदा यहाँ शिविरमा कोही पनि आफन्त भेटिएन, म आफैं मुटुको बिरामी र डिप्रेसनले गलिसकेको थिएँ । आज पनि आफ्नो विगत र भविष्य सम्झेर अहिले पनि बेलाबेला भक्कानिने गर्छु, उपाय केही छैन ।”

आफ्नै तनाव र द्विविधाका माझ, शान्तिरामसँग पनि एउटै सरोकार छ— झण्डै २१ वर्ष जेलमा बसेर फर्केका दिलकुमार राईको जस्तै । “अन्तर्राष्ट्रिय रेडक्रसका अधिकारीले मलाई चार पटक भूटानको जेलमा भेटे, शरणार्थी आयोगका ठूला मान्छेले पनि भेटे, आईओएमका अधिकारी पनि भेटिन्छन्” कहींकतै सुन्न छाडिएको सरोकार सुनाउँदै उनले भने, “सबै पटकका भेटमा ‘तपाईं जेलबाट निस्कनासाथै तपाईंको परिवारसँग मिलन गराइनेछ’ भनेर दाबी गरिरहे, आश्वासन दिइरहे । आज यही कुरा सोध्न चाहेमा जवाफ आउँछ— यो हाम्रो कुरा होइन । उसोभए किन त्यसरी ललाईफकाई हाम्रा परिवारलाई विदेश लगिएको हो ? हामीलाई किन यसै अलपत्र छाडिएको हो ?”

‘छोरो आउला’ भनी कुरिरहनेहरू

दमक, बेलडाँगी शिविरको बाङ्गे चौतारो नजिकै ‘शरणार्थी आमा’को घर छ । काठमाडौंको आईसीआरसी होस् वा शरणार्थी आयोग, शरणार्थी मामलामा कतै केही सोधपुछ गर्नुप¥यो भने ‘शरणार्थी आमा’ लाई सम्झिहाल्छन्— ‘फोकल पर्सन’ का रूपमा ।

भूटानको दागानामा जन्मे–हुर्केकी डम्बरकुमारी अधिकारी सन् १९९२ को अप्रिल महीनामा ६ वर्षको छोरो ओमनाथ र अढाइ वर्षे काखे छोरी धनमाया लिएर माइधारमा थुप्रिएको शरणार्थी हुलमा मिसिन आएकी थिइन् । ‘लौ, आन्दोलन उठो अरे’ भन्दै गाउँका बाठाटाठाहरू खुरुखुरु गाउँ छाड्न थालेपछि डम्बरकुमारी पनि टुहुरा छोराछोरी बोकेर निस्किएकी थिइन् । दुःखजिलो गरेरै र शरणार्थी कोटाको अन्नपात थापेर छोराछोरी पढाइन्, बढाइन् । धेरैपछि सन् २००८ को मार्च महीनातिर आफ्ना बाबुबाजेको थातथलो हेर्न भूटान हिंडेका ११ जना शरणार्थी युवामध्ये ओमनाथ पनि थिए जो भूटानको साम्जोङ्खर बोर्डरमा एकैसाथ पक्राउ परेका थिए । र, ती सबै अझै पनि चेम्गाङ जेलमा थुनिएकै छन्, आजीवन काराबासको सुनुवाइसँगै । ती सबैलाई ‘देशद्रोही, आतंककारी र राजनीतिक उपद्रवकारी’को अभियोग लगाइएको थियो, जसमध्ये कसैलाई पनि थाहा छैन कि किन यो आजीवन काराबास दिलाइएको हो भनेर । ती ११ तन्नेरी थिए— ओमनाथ अधिकारी, बिर्खबहादुर क्षेत्री, हस्तबहादुर राई, सन्मान गुरुङ, चतुरमान तामाङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल, सुकमान मगर र ११.कुमार गौतम ।

यसरी अनाहकमा आजीवन थुना–सजाय बेहोर्नेमध्ये ओमनाथकी आमा हुन्– डम्बरकुमारी अधिकारी । जो भूटान छँदै श्रीमान् बितेको सन्ताप साथैमा बोकेर र देशै छाड्नुपर्ने त्रासदीयुक्त समय बेहोर्दै आजसम्म आफ्नै नियतिसँग संघर्षरत छिन् । बेलडाँगी शिविरमै बस्ने ५७ वर्षीया आमा कलावती मगर पनि भूटानको चेम्गाङ जेलमा थुनामा रहेको छोरो सुकमानलाई हृदयले सम्झिरहेकी हुन्छिन् । “हामी भूटान, सर्वाङबाट लखेटिएर सन् १९९२ मा यता आएका हौं” कलावती भन्छिन्, “पछि सन् २००८ मा भूटान गएका बखत छोरो पक्राउ परेछ, अनि थुनामा पुगेपछि मात्रै थाहा पायौं ।” कलावती पनि आमा डम्बरकुमारीसँगै छोरो भेट्न थुप्रैचोटि चेम्गाङ पुगेकी छिन् ।

“भेटमा छोरासँग दुःखसुखका कुरा हुन्छन्, सन्चो–बिसन्चो सोध्छु” उनले सुनाइन्, “कहिलेसम्म जेलमा राख्छ भन्ने थाहा छैन । ‘खोइ हामीलाई जेल अवधि तोकेकै पो छैन’ भन्छ छोराले ।” श्रीमान् नरबहादुर र कान्छो छोरो संजीवसँग शिविरमै बसिरहेकी कलावती पनि अरू चिनेजानेकाहरू तेस्रो देश जान थालेपछि एकप्रकारले विचलित बनेकी थिइन् । “त्यही नानी आउला र विदेश जाऔंला भन्ने हो, तर पार लाग्ने देखिन्न” आमाको मनले भन्छ, “सपनामा पनि देखिरहन्छु त्यही जेलभित्रको छोरालाई । बरु उसका श्रीमती–छोरीहरू अहिले अमेरिका गैसके, हामी बाबुआमा भने छोरो पर्खेरै बसिरहेका छौं । त्यो छोरालाई पर्खिरहन पाए हुन्थ्यो भन्ने छ, फेरि छोरै नभेटी बीचैमा मरिगइने पो हो कि भन्ने डर नि कताकता छँदैछ ।”

भूटान, गेलेफुबाट ज्यान जोगाएर नेपाल आएका दलबीर राईका साथमा दुई छोरा र श्रीमती पनि थिए । दुईमध्ये जेठो छोरा भक्तबहादुर राई भूटानको जेलमा थुनिएको २८ वर्ष भइसकेको छ । “नानी फर्केर आउला र, सँगै विदेश जाउँला भनेर पर्खिबसेका हौं” दाहिने आँखाको क्यान्सर भएर अशक्त (झोलिएको) आँखा लिएरै यताउता गरिरहने ८२ वर्षीय बाबु दलवीरले सुनाए, “के आउँछ होला त मेरो छोरा जेलबाट ?” बाबुलाई रुँघेर र दाजु जेलबाट फर्की आउला भन्ने आशामा बसिरहेका इन्द्रबहादुर राई विगतमा तीन पटक चेम्गाङ पुगेका छन् । जेलमा आफ्ना दाजु भक्त जस्तै अरू थुप्रै कैदी देखेपछि ‘यी सबै कुनै दिन जेलमुक्त हुन्छन् नै होला’ भन्ठानेरै उनी शिविर फर्कने गरेका छन् ।

भक्तबहादुरको पक्राउलाई ‘आधिकारिक’ देखाउने प्रयत्नमा १९९३, अक्टुबर २ को भूटानी सरकारको मुखपत्र ‘क्युनसेल’ले पत्रिकाको अन्तिम पृष्ठमा भक्तको तस्वीर सहित एउटा समाचार छापेको छ— ‘पुलिसले वाञ्छित आतंककारी पक्रियो’ शीर्षकमा । १९९० मा भूटान छाडेर भागेको व्यक्ति भएकाले भक्तबहादुरलाई ‘आतंककारी’ उपमा दिंदै समाचारमा भक्तले चोरी गरेको, व्यक्तिहत्या गरेको, बलात्कारमा संलग्न रहेको जस्ता विभिन्न आरोप लगाइएको छ । संयोग के छ भने, त्यही अंक पत्रिकाको प्रथम पृष्ठमा ‘नेपाल वार्ताका विषयमा गृहमन्त्री आशावादी’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा उल्लेख छ— ‘भूटानी गृहमन्त्री ल्होन्पो दागो छिरिङ नेपालको पूर्वी तराईमा रहेका क्याम्पहरूमा रहने व्यक्तिहरूको पहिचानका लागि गठित मन्त्रीस्तरीय बैठकमा तीन सदस्यीय भूटानी प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौंतर्फ जाँदै हुनुहुन्छ ।’

सुपारी बेच्न जाँदा जेल

दक्षिणी भूटानमा नेपालीभाषी ‘ल्होत्साम्पा’ माथि जातीय सफाया शुरू भएपछि बढेको धरपकड र देश छाड्ने लहरमाझ सर्वाङ, डाँडागाउँका नरबहादुर मगरको परिवार पनि भागदौडमै प¥यो । “आमाबाबु, दाइभाउजू र मेरा श्रीमती छोराछोरी समेत सन् १९९१ मा नेपाल आइपुगेका हौं” बेलडाँगी, बी ३, हट नम्बर २५५ मा भेटिएका नरबहादुरले सुनाए, “भूटानमा हाम्रो गुवा(सुपारी) बगान थियो, त्यही बेचबिखनमा दाजु मधुकर सन् १९९४ मा फेरि भूटान छिरेका थिए, उतै पक्राउ खाएर अहिलेसम्मै चेम्गाङ जेलमै थुनामा छन् ।” त्यस बीचमा ठूलो परिवारलाई पाल्न र भरपोषण गर्न नरबहादुर स्याङ्जातिर सडक निर्माणको काममा ज्यालादारीमा गएका रहेछन् । केही वर्ष उतै काममा लागेर घर फिर्दा आफ्नै परिवारसहित बाआमा, भाउजू सबैजना अमेरिका उडिसकेको उनले पाए । यसरी शिविरमा एक्लिएका नरबहादुरलाई न त भूटान जेलमा रहेका दाजुकै पछिल्लो स्थिति थाहा छ, न अमेरिकामा रहेका घरपरिवारै सम्पर्कमा छन् ।

१९९२ मा भूटानबाट नेपाल आइपुगेका गंगालाल गुरुङको परिवारमा त्यसबेला ९ सदस्य थिए—बाआमा, भाइबहिनीसहित । रहँदैबस्दै जाँदा सन् २००८ मा एसएलसीको परीक्षा सकेपछि भाइ सन्मान अरू साथीभाइसँग मिलेर घुम्न निस्किएको थियो । कहाँ गयो, कता गयो— पत्तै भएन । धेरैपछि सन्मानसहित शिविरकै अरू केटाहरू भूटानमा पक्राउ परेको र चेम्गाङ जेलमा थुनिएको थाहा भयो । “रेडक्रसको सहयोग लिएर मैले बाबुलाई पनि चेम्गाङ जेलमा छोरो भेटाउन लगें, म पनि गैरहेको हुन्छु”,उनले सुनाए । चेम्गाङमा छोरो भेटेर आएपछि भने बुबाआमा र अरू भाइहरू पनि विदेश गैसकेका छन् । “दुई वर्षअघि भेट्दा भने भाइले मलाई पर्खेर लिएरै विदेश जानू भनेको छ । त्यही भएर अन्तिममा भाइ पर्खिएर बस्ने म मात्रै हुन्छु होला शिविरतिर”,गंगालालले सुनाए, “फेरि छुट्टिने बेलामा भने अरू उपाय केही लागेन, मलाई कुरेर मात्रै भएन भने जानू नि त भन्यो भाइले, निकै गह्रौं मनले ।”

४३ वर्षको सजाय ?

सन् १९९१ मा भूटान, सर्वाङबाट देश छाडेर निस्किएको पुलामी परिवारका बाबु बेलडाँगी शिविरमा आएर बिते, आमा पुनर्वासमा गएर अमेरिकामै बितिन् । पुलामी परिवारका दुई दाजुभाइ भूटानभित्रै गरिखाइरहेका छन् भने अर्का दुई जना अमेरिकामा छन् । “मेरो दाजु डम्बरसिंह पुलामी भने २१ वर्षयता चेम्गाङ जेलमा थुनिएका छन्”,बेलडाँगी शिविरमै बसोबास गर्दै आएकी डम्बरकी बहिनी लक्ष्मी पुलामीले सुनाइन्,“मसँग शरणार्थी परिचय पत्र नभएका कारण चेम्गाङसम्म गएर दाजु भेट्न पनि पाएकी छैन ।”

कुनै अदालती प्रक्रिया र पद्धतिबाट कारागार अवधि नतोकिने भूटानमा अधिकांश कैदीलाई ‘आजीवन कारावास’ भनिएको छ, कसैलाई भने चार पटकसम्मको आजीवन कारावास (भीमबहादुर राई) समेत भनिएको छ । सामान्यतया एक पटकको आजीवन कारावास १५ वर्षको हुने भनिए पनि डम्बरसिंह पुलामीकै हकमा प्राप्त चार्ज सिटमा ‘४३ वर्ष कारागार’ तोकिएको छ । भूटान ह्युमन राइट वाच र भूटानमा थुनिएका राजबन्दीको रिहाइ अभियानले उपलब्ध गराएको राजबन्दी सूचीमा डम्बरसिंह सहित मणिकुमार प्रधानलाई ४३ वर्ष थुना अवधि भनिएको छ ।

चेम्गाङ जेलमा रहेका ५८ वर्षीय डम्बर पुलामीकी श्रीमती सावित्रा सहित छोरा–बुहारी, छोरीहरू तेस्रो देश पुनर्वासमा गइसकेका छन् । हाल अमेरिकाको पेन्सिलभिनिया राज्यमा रहेकी डम्बरकी श्रीमती सावित्राले फोनमा भनिन्, “हामी १९९२ तिर भूटानको सर्वाङबाट लखेटिएर झापाको टिमाईमा आएर बसेका थियौं । पछि छोराहरू बढ्दै गएपछि अलिकति खर्चबर्चको जोहो गर्न सन् २००१ को अन्त्यतिर श्रीमान् भूटान जानुभएको थियो । उता हाम्रो सुपारी ठेक्काको काम थियो, दाजुहरूको पनि पसल थियो । खर्च जोहो गर्न गएका श्रीमान एकैचोटि चेम्गाङ जेलमा पो थुनिएका छन् रे भन्ने सुन्नमा आयो ।”

सावित्राले नेपाल छँदै रेडक्रसको सहयोगमा चेम्गाङ गएर श्रीमान डम्बरलाई पाँच पटक भेट्न पाएकी रहिछन् । उनले पनि श्रीमान्को थुना अवधिबारे ‘यत्ति नै हो’ भन्ने थाहा पाएकी छैनन्, तर ४३ वर्ष तोकिएको भन्ने सुनेकी हुन् । “छोराछोरीको भविष्यकै निम्ति पनि अमेरिका आउने निधो गर्नुप¥यो” ५५ वर्षीया सावित्राले भनिन्, “सन् २०११ मा हामी नेपालबाट यता आएपछि भने जेलमा रहेका श्रीमान् बारेमा कुनै प्रकारको सूचना पाएकी छैन । यो जुनीमा कुनै दिन त भेट होला नि भनेर प्रार्थना गर्दै बसिरहेकी छु ।”

बेलडाँगी–२ कै २७२ छाप्रोमा बस्ने ६८ वर्षीय बुबा नरपति र ६४ वर्षीया आमा देउमाया खनालको कथा–व्यथा पनि उस्तै छ । खनाल दम्पतीको माइलो छोरो खगेन्द्र खनाल पनि शिविरका भक्तबहादुर, सन्मानसँगै २००८ मा भूटानमा पक्राउ परेर चेम्गाङमा राखिएका छन् । “चेम्गाङको ब्लक–४ मा दाइ बस्छन्, बुबा पनि छोरो भेट्न एकपटक जानुभो, म चार पटक गैसकें” खगेन्द्रकी बहिनी उमादेवी खनालले भनिन्, “दाजुले ‘मिलेसम्म तिमीहरू तेस्रो देश जानू, मेरो कागजपत्र शिविरमै राखिदिनू’ भन्नुहुन्छ । तर बाआमाले छोरो फर्केर नआई कतै नजाने भनेर यतै बसिरहेका छौं ।” जबकि खनाल दम्पतीको एक छोरो अष्ट्रेलिया र अर्को क्यानडा बसोबासमा पुगेका छन् ।

यसरी आफन्त भेट्न जाँदा जेलको पाहुना–घरमा चार रात, तीन दिन बस्न पाइने भएपनि त्यहाँ रहेका आफन्त कैदीले थुनाकक्षमा के खान्छन्, कसरी बस्छन् वा के गर्छन् भन्ने हेर्नै नपाइने गरेको अनुभव उमादेवीसँग छ । “हाम्रो मोबाइल, पैसा, ब्याग जेलकै गेटमा राखिएको हुन्छ । भित्र पकाएको खानेकुरा लैजान पाइन्न, कम्पनी प्याक भएको सिल खानेकुरा मात्रै परीक्षणपछि लैजान पाइन्छ” उनले सुनाइन्, “तर, दाजुहरू अरू दिन बस्ने कोठा कस्तो छ, के खान्छन् वा पकाउँछन्— त्यो नि हेर्न पाइन्न । पाहुना घरमा हामीलाई राखिएको हुन्छ, दाजुहरूलाई त्यहीं ल्याइन्छ, केही दिन त्यहीं सँगै बस्छौं । कहींकतै बाहिरफेर गर्नै पाइन्न ।”

टेकनाथका साथी अझै जेलमा

२४ वर्षअघि भूटानी अधिकारवादी नेता टेकनाथ रिजाल चेम्गाङ जेलमा छँदै उनका साथी थिए— गंगाराम ढकाल । अझै पनि जेलमै राजबन्दी रहेका ढकाललाई भेट्न उनकी बहिनी तुलसा रिमाल मौका मिलेका अवसरमा चेम्गांङ पुग्छिन् । दाजुको कुरा सम्झँदै उद्वेलित बोलीमा तुलसा भन्छिन्, “यो मेरो थुना जीवनभरि हो । जीवनकालभर मात्रै होइन— यो सजाय मरेर गएपछि आत्माले पनि एक/दुई पुस्तासम्मै भोग्नुपर्नेछ भन्छन्, यहाँ । म मात्रै होइन, यहाँ १६ जनालाई म जस्तै जीवनभरको सजाय छ ।” सजायका कुरामा भन्नैका लागि ‘लाइफ इम्प्रिजनमेन्ट’ (आजीवन) भनिए पनि यसको लेखाजोखा न दाजु गंगारामलाई छ, न बहिनी तुलसालाई ।

राबुना सैन्य थुनामा 

  • प्रेम राई
  • मधुलाल बुढाथोकी
  • लोकबहादुर घले
  • रामलाल रावत
  • कुमार राई
  • विष्णु राई
  • शबहादुर गुरुङ
  • किन्ले ग्याल्टसेन
  • एमबी भुजेल
  • लोकनाथ आचार्य (२०१४)

“२२ वर्षे उमेरमा थुना परेको दाजु आज ५२ वर्षको भैसक्यो” बेलडाँगी टु, सेक्टर सी–वान, हट नम्बर १२७ मा भेटिएकी तुलसाले सुनाइन्, “जेलमा दाजु भेट्न जाँदा भेटिने टेकबहादुर, दिलकुमार र अरूहरू जेलमुक्त भएर आइसक्नुभयो । दाजु गंगाराम भने के, कहिलेसम्म थुनामा रहने भन्ने पत्तो छैन ।” ९० को दशकमा दक्षिणी भूटानमा शुरू भएको राजनीतिक उथलपुथलपछि गाउँघरका अलिक टाठाबाठा नेपालीभाषीमाथि प्रहरी–प्रशासनको ‘निगरानी’ शुरू भएको रहेछ । गेलेफु, चारबन्दीका मुक्तिनाथ ढकालका छोरा गंगारामलाई पनि प्रहरीले पक्रन खोज्दैछ रे भन्ने हल्ला फैलिएपछि १९९२ को बर्खा सकिएपछिको एक रात ढकाल परिवार गाउँघर छाडेर भागेका थिए ।

“म त्यसबेला १४ वर्षकी थिएँ । बुबाआमासहित परिवारका ८ सदस्य हामी घर छाडेर भागेका थियौं । हामी भूटानको बमजनडाँडा हुँदै भारत, आसामको बोर्डर बाघमारा पुगेका थियौं”,तुलसाले ती दिन उधिन्दै भनिन्— “बाघमारामा एकजना लुइँटेल थरका चिनारुकहाँ आश्रय लिएर झण्डै तीन साता बसेका थियौं । गेलेफु घरबाटै दुई माउ गाई पनि साथैमा लिएर गएकाले खर्चबर्चकै लागि ती गाई बेच्न चाहेका थियौं । तिनै लुइँटेल परिवारले पैसा पछि दिउँला भनेर गाई भने राखे, हामी त्यहाँबाट सिलिगुढी हुँदै नेपाल आइपुग्यौं ।’

शरणार्थी पहिचानमा नेपाल भित्रिएर शुरूमा माईधार र पछि बेलडाँगीमा बस्न थालेको खनाल परिवारका जेठा छोरा गंगाराम गाई बेचेको खर्च उठाउन त्यही साल (१९९२) तिहारलगत्तै बाघमारा हिंडेका थिए । बाघमारा हुँदै गंगाराम भूटानको सुरेतर्फ गएको र त्यहीं एकजना साथीको भरमा बास बसेको भन्ने जानकारी पाए पनि त्यहींबाट भूटानी प्रहरीले पक्रेर लगेको भन्ने पुष्टि भने धेरैपछि मात्रै भयो । “सुरूका ६ महीना जति त दाजुलाई माटोमुनिको सुरुङ जस्तोमा राखेको थियो रे, भूमिगत शैलीमा । अरूले खाएर रहेको खानेकुरा बाटामा हालेर दिइन्थ्यो रे”,बहिनी तुलसाले सुनेका कुरा सुनाइन्, “त्योबेला हामी एकै हुल भएर नेपाल छिर्नेमध्ये आज बाआमा यो दुनियाँमै हुनुहुन्न, एकजना दाजु अमेरिका र एकजना क्यानडा छन् । दिदीबहिनी पनि अमेरिका–क्यानडामै छन् । भुटान जेलमा रहेका दाजु भेट्न भने म मात्रै यो शिविरबाट गैरहेकी छु ।”

हिजोका यी कुरा स्मरण गरिरहँदा र चेम्गाङ जेलमा दाजु भेट्न गएका क्षणहरू सम्झिएर मात्रै पनि बहिनी तुलसा भक्कानिएर रोइरहेकी थिइन् । छेवैमा रहेका साना दुई छोरीहरू ‘आमाले आँसु नझारिदिए हुन्थ्यो’ जस्तो विनयशील अनुहार देखाइरहेका थिए । यो जीवन के हो त दिदी ? शिविरबाट बिदा हुने बेलामा तुलसालाई सोधेको थिएँ । “जीवन ? सम्झिसक्नु छैन नि ! सारा छिन्नभिन्न छ, परिवार जस्तै मनमुटु पनि । अब कुनै दिन त्यो परिवार भेला होला, सुखसयलको हाँसो हाँसिएला भन्ने छँदैछैन । खासमा हामी कहीं कतै उपाय नहुनेहरू मात्रै यसरी शरणार्थी बनेर शिविरमा अड्केका हौं, जीवन यही हो भाइ ।”

यो जवाफभन्दा बढी हृदय हल्लाउने सुँक्क सुँक्क बढी सुनिन्थ्यो, परैसम्म ।

१४ वर्ष बिते, छोरो पर्खिरहेकी छु

भूटानको दागानामा जन्मे–हुर्केको हो मेरो परिवार । सन् १९९२ को गर्मीयाममा आन्दोलन उठ्यो अरे भन्दै गाउँले टाठाबाठाहरू खुरुखुरु गाउँ छाड्न थाले । अनि म पनि स–साना टुहुरा छोराछोरी बोकेर निस्किएकी थिएँ । त्यसबेला छोरो ओमनाथ ६ वर्षको थियो, छोरी धनमाया अढाइ वर्षकी ।

शरणार्थी शिविरमा आफ्नै दुःख, हैरानी त थियो नै । शरणार्थीका लागि तोकेको अन्न र नूनतेलका भरमा छोराछोरी हुर्काएँ, बढाएँ, सकेको पढाएँ पनि । अब सुखका दिन आउलान् कि भन्ठान्न थालेकी थिएँ— २१ वर्षको उमेरमा एकपटक बाबुबाजेको माटोमा गएर आउने भनेर छोरो शरणार्थी छाप्रोबाट निस्कियो, अनि उतै जाकियो ।

छोरो ओमनाथ अधिकारी जेल परेको आज १४ वर्ष भयो । सन् २००८ (फागुन) मा साम्जोङ्खर बोर्डरमा ११ जना भूटानी केटालाई एकैचोटि पक्राउ गरेको भनेर यहाँको सप्तरंगी रेडियोले नाम फुकेको थियो । पछि कात्तिक महीनामा दमक बजारमा गएर रेडक्रसमा मेरो छोराको पक्राउ र अहिलेको अवस्थाबारे बुझ्न चाहें । तर, ‘तपाईंको छोराबारे केही थाहा छैन, भूटान जाने भए आफ्नै खर्चमा जानुहोस्’ भनेर हाकिमहरूले भने । अनि म आफैं खर्च जुटाएर फुन्चोलिङ–जयगाउँ गएँ, तर त्यहाँ सीमाका पुलिसले ‘कोही ओमनाथ नामको पक्राउ भएकै छैन’ भने । ‘पक्राउबारे रेडियोमा नाम सुनेरै म यहाँ आएकी हुँ, मेरो छोरा सहित ११ जना पक्राउ गरेको भनेको छ । एकपटक माथि जेलसम्म गएर बुझ्छु’ भनेर बिन्ती बिसाएँ, मलाई फुन्चोलिङमै रोकियो । तीन दिन त्यहाँ रोकिएपछि बल्ल माथिबाट खबर गरे— ‘ओमनाथ पक्राउ परेको हो, जेलमै छ’ भनेर । अनि मात्रै माथि जेलमा जान दिए ।

डम्बरकुमारी अधिकारी, बेलडाँगी शिविर

मैले मेरो छोरोसहित अरू नानीहरूलाई भेट्न पाएँ, रोकिएको सास फेरि फेर्न थाले झैं भयो । राति चैं छोरासँग बस्न दिएन । तर, दिउँसो भने बस्न दिन्थ्यो । दुई दिनसम्म त्यसरी पाहुना घरमा बसेर म फर्किएँ । अनि दमक शिविरमा आएर ‘हाम्रा नानीहरू पक्राउ परेका रहेछन्, यी–यी छोराहरू जेलमा रहेछन्’ भनेर खबर सुनाएँ । अनि, पालोक्रममा आफ्ना नानी भेट्न जान थाल्यौं । मेरो पनि त्यति एउटै छोरो, दुःखले हुर्काएको ।

मायाले थामिन सक्ने कुरै भएन । पछि आईसीआरसी (अन्तर्राष्ट्रिय रेडक्रस)लाई काठमाडौंमा भनेर वर्षमा चार पटक (तीन महीनाको पालोमा) भेट्न जान्थ्यौं, पछि आईसीआरसीले जाने–आउने खर्च दिन्थ्यो । त्यसरी जेल भ्रमणमा जाँदा ‘ग्रुप मिलेर आउनुस्, हामीलाई पनि पास मिलाउन सजिलो हुन्छ’ भनेर फुल्चोलिङका प्रहरीले भनेपछि हामी १५/१६ जनाको समूहमै जाने गथ्र्यौं । त्यसो गर्दा पनि कसैको माथिबाट जेल भ्रमणको ‘पर्मिसन’ आउँथ्यो, कसैको आउन्नथ्यो । धेरैपटक दुई/तीन दिन फुन्चोलिङमा कुरेरै भए पनि माथि जाने गरेका थियौं । यो भदौ १८ मा मैले जेलमा छोरो भेटेर आएको दुई पुगेर तीन वर्ष लाग्छ, अहिले भने कोरोनाको कारण भनेर पूरै आउजाउ रोकिएको छ ।

१३ वर्षदेखि चेम्गाङ जेलमा रहेका ओमनाथ अधिकारी ।

जेलमा रहेको छोरो भेट्न पाए पनि यो मनमा शान्ति त छैन नै । उसबेला ‘सबैजना बगेकै खोलामा पसियो भने बरु बाँचिएला’ भनेर टुहुरा सन्तान लिएर म पनि भेलमा पसेकी थिएँ । आज यो हविगत छ, बाँच्न बाँचियो तर, यसरी बाँच्नुको पनि के अर्थ ? त्यो छोरालाई आखिरमा भूटानकै माटोले तानेको रैछ, मैले भूटान छाड्नु नै गल्ती रहेछ भन्ने लाग्छ । कता हो कता, कहाँ हिंडिदैछ भन्ने थाहै नपाई उबेला देश छाडिएको थियो । कतिले बुझेर छाडे होलान्, मैले भनें नबुझी छाडेकी थिएँ । छोरो किन भूटान गयो, कसरी गयो— मलाई कहिल्यै थाहा भएन । शुरूमा गोल खेल्न गोलधाप जान्छु भनेर हिंडेको हो ऊ, यहाँ फूटबलको खेलाडी थियो ऊ । पर्सिपल्ट तिहारको टीका थियो, टीका थाप्न म आइपुग्छु भनेर हिंडेको थियो । कात्तिकमा घर छाडेर हिंडेको छोरो भूटानमा पक्राउ प¥यो रे भन्ने खबर फागुनमा पाइयो, त्यो पनि रेडियोबाट नाम सुनेकै भरमा ।

म जेलमा पुगेपछि मौरीको रानोमा गोलो बसेझैं गर्छन् नानीहरू । मेरो छोरोको मात्रै कुरा भएन, सबैका लागि म आमा हुँ त्यहाँ । हामी सबै एउटै दहका माछा हौं । त्यहाँ गएर एउटाको अनुहार हेर्छु, अँध्यारो देख्छु । अर्काको पनि अँध्यारै देखिन्छ, खपिसक्नु हुन्न । बित्थामा आएँछु जस्तो पनि हुन्छ । तर, के गर्ने अहिले मायाले डो¥याउँछ भूटानको जेलसम्म । म कसैलाई कपडा लगिदिन्छु, कोहीलाई खानेकुरा । दुई/तीन दिन सँगैजसो जेलमा बसिन्छ, के–के न कुरा गरौंला भनेर पुग्यो । यसो छोरो सुम्सुम्याएरै समय बित्छ । अरू कोही कसैका आफन्त भेट्न गएनन् भने पनि मै जान्छु— के छ छोरा भन्दै । किनभने कतिका त परिवार जति अमेरिका–बेलायत पुगिसके, यहाँ सबैका लागि ‘डम्बरकुमारी आमा’ भन्ने हुन्छ । हामीसँग भएको सूचीमा २० जना त यही बेलडाँगी क्याम्पबाटै गएका छन् । त्यसमा पनि तीन जना बेपत्ता छन्, को–कहाँ छन् अथवा छैनन्, भेट्न सकिएको छैन । यहीं मैले चिनेकामध्ये लोकनाथ आचार्य, कुलबहादुर बस्नेत, चेङगुम डुक्पाको अत्तोपत्तो छैन । धेरैपछि सन् २०१४ तिर यही शिविरबाट बिरामी बाबुआमालाई औषधि लिन सिलगुढी गएको लोकनाथ आचार्य उतैबाट पक्राउ परेर भूटान लगिएको रैछ, पछि थाहा भयो । तर, लोकनाथ के–कता छन्, थाहा भएको छैन । उनका आमा, श्रीमती सहितका परिवार आज विदेश पुगिसके ।

यसरी, छोरो आज आउँछ, भोलि आउँछ भन्दै १४ वर्ष बितेका छन् । चित्त बुझाउने बाटो भनेको अरूका छोराहरू २८–३० वर्ष जेलमै छन् भन्ने हुन्छ, म बाँचिरहें अथवा ऊ बाँचिरह्यो भने कुनै दिन भेट होला नि त भन्ने हुन्छ । यत्ति हो, तेरो छोराको गल्ती यो हो र, यति सजाय हुन्छ मात्रै भनिदिए पनि चित्त सन्तोष हुनेथियो । अहिले कोरोना, लकडाउनले गर्दा ऊ म¥यो कि बाँचेकै छ भन्न सकिएको छैन । यत्तिका वर्ष बितेर गए, छोरो पर्खेर बसेकी छु । ‘यसरी छोरो पर्खेर नहुने रहेछ’ भन्दै अष्ट्रेलियामा ज्वाईं रहेकाले उतै जाने विचार पलाएको थियो, तर लकडाउन भएपछि सबैकुरा रोकिएको छ । म यहाँ छोरी र नाति रुँगेर बसेकी छु ।

यो जीवन कर्कलाको पानी रहेछ, यता ढल्क्यो–पोखिन्छ । उता ढल्क्यो– फेरि पोखिन्छ । मेरा लागि एउटै आशा–भरोसा भनेको त्यही छोरो हो, कहिलेसम्म सकिन्छ– पर्खन्छु नै ।

‘भूटानमै जन्म–कर्म, लखेटिएर जयगाउँ’

तिलक कटुवाल भूटानको पाना बस्तीमा जन्मिए, हुर्किए । पढाइको मेट्रिकुलेसन तह पूरा गरेपछि सन् १९७५ मा भूटान गभर्मेन्ट पब्लिक ट्रान्सपोर्ट, फुन्चोलिङमा काम थाले । सेवा परिवर्तन गर्ने इच्छा र अवसर भएकाले उनी वन विभागमा गए । उनले भारतको् खर्साङमा गएर फरेस्ट्री अफिसरसम्मको ट्रेनिङको मौका समेत पाए ।

तिलकका अनुसार, त्यतिखेर भूटानमा राम्रो शान्ति थियो, उनको पनि सरकारसँग राम्रो थियो । ९० को दशकदेखि अप्ठ्यारा दिनहरू आए । भूटानले ‘बाहिरी देशका मान्छे आए’ भनेर रोक्नका लागि नीति बनायो । त्यो नीतिले नेपालीभाषी भूटानीलाई अप्ठ्यारो पर्ने अवस्था आयो । त्यसकै विरुद्ध शान्तिपूर्ण आन्दोलन भएको थियो । त्यतिबेला दक्षिणी भूटानबाट काउन्सिलर टेकनाथ रिजाल थिए । ‘नेपालीभाषीलाई अप्ठ्यारो पारिंदैछ’ भनेर रिजालले राजा जिग्मे सिंगेसँग बिन्ती गर्नासाथै रिजाल जेलमा थन्किहाले । ल्होत्साम्पाको बोली बन्द हुँदै गएपछि आक्रोश बढ्दै गयो, देशैभर आन्दोलन भयो, धरपकड बढ्यो । जनसाधारण जोकोही सांघातिक आक्रमणमा परे ।

त्यतिबेला तिलक भूटान सरकारले एकवर्षे तालिममा पठाएर युरोप (नर्वे) गएका थिए । उनी तालिम सकेर सन् १९८९ अन्त्यमा फर्केर भूटान आए । “तर, म फर्किंदा मेरो जागिर थिएन, गाउँगाउँमा हाहाकार थियो, भागाभाग थियो । मेरो नाम पनि सरकारले भगौडामा राखेको रहेछ” भूटानको सीमावर्ती भारतीय सानो वस्ती जयगाउँमा भेटिएका तिलकले सम्झिए, “मैले सरकारसँग निकै अनुरोध गरें, मेरो केही गल्ती छैन भनेर । होइन–होइन, तिम्रा सबै मान्छे गए, तिमी पनि जाऊ भनेपछि सन् ९१ मा बाध्यतापूर्वक राजीनामा दिएँ । अनि यता जयगाउँ आएर बस्न थालें ।” तिलकको एक सन्तान थिम्पू र अरू दुई वटा फुन्चोलिङमा जन्मिएका हुन् । तैपनि उनी झैझगडामा उत्रिएनन् । जो निधारमा लेखिएको छ, त्यही हुने हो भन्दै आफ्नो जन्म–कर्मथलो छाडेर हिंडे । तिलक आफ्ना ९८ बर्षिय बुबा गंगाबहादुर कटुवालसहित अहिले जयगाउँमा बसोबास गर्छन् ।

तिलक कटुवाल (६६)

तिलकले बुझेसम्म ‘भूटानमा नेपालीभाषी नागरिक (ल्होत्साम्पा)लाई सफाया गर्ने योजनै बनेको हो । भूटानी सरकारले चाहेको ‘जातीय सफाया’ नै हो, तर सफाया हुन नसकेपछि शरणार्थी समस्या शुरु भएको हो । त्यसपछि भूटानभित्र जो रहे रहे, बाहिरतिर जो गए गए । गएका फर्किन सकेनन्, भित्र रहेकाले सरकारी कानून मानेरै बसे ।

भूटान–भारत दशगजामा बसेर तिलकलाई के लाग्छ भने भूटानको पूरापूर सुरक्षा भारतले गर्दै आएको छ । जस्तो दोक्लाममा त्यत्रो मामला भयो, तर त्यहाँ भूटान गएर लड्नै परेन । भारतले लडेरै दोक्लाम ‘क्लियर’ ग¥यो । जहाँजहाँ भूटानको चीनसँग बोर्डर छ, सबै इण्डियाले नै हेर्छ । फेरि इण्डियाले जे भन्छ, त्यो नै अन्तर्राष्ट्रिय जगतले सुन्छ ।

उनका बुझाइमा—ठीक यसैगरी, भारतको छत्रछायाँमा बसेको भूटानका मामलामा पनि भारतले जे भन्यो त्यही हुन्छ । भूटानी शरणार्थी मामलामा पनि त्यही हुन्छ । “भूटानलाई नेपालले केही गर्न सक्ने होइन । नेपाल आफैं राजनीतिक रूपमा कमजोर छ । शरणार्थी मामला नेपालले अन्तर्राष्ट्रिय रूपमा पनि लैजानै सक्दैन” तिलक भन्छन्, “अब पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका ६–७ हजार वृद्धवृद्धा–बालबच्चालाई के गर्ने र ? तिनलाई भूटान पठाउन म त असम्भव देख्छु । सकेको विदेश जान्छन्, नसक्ने नेपालै बस्लान् ।”

‘कुटेरै मारिएका पनि थिए’

भूटानको गेलेफुमा ५१ वर्षअघि जन्मिएका ब्रम्हलाल अधिकारी शरणार्थी पुनर्वास कार्यक्रममा परेर अमेरिकाको आइवोवा स्टेटमा बसोबास गरिरहेका छन् । गेलेफु छँदा ब्रम्हलाल सहितका गाउँलेहरु गाईबस्तु पालनमा संलग्न थिए । कहिले चरन र कहिले बेचबिखनकै लागि उनीहरू गेलेफु सीमावर्ती भारत, आसामको देउसिरे (मेचे वस्ती)मा गाईबस्तु ओहोरदोहोर गरिरहेका हुन्थे ।

ब्रम्हलाल अधिकारी, अमेरिका

सन् ९० दशकको शुरुआतमै अनेक झुट्टा मुद्दा र आरोप लगाएर दक्षिणी भूटानमा नेपालीभाषीमाथि भूटान सरकारको ज्यादती शुरु भएपछि अधिकारी परिवारलाई पनि दोहोरो नागरिकता (भारत र भूटान)को रहेको भन्दै देशनिकाला गरिएको थियो । देशनिकाला हुनुअघि सन् १९९० को सुरुवातमै ‘राजनीतिक गतिविधिमा लागेको भन्दै’ ब्रम्हलाललाई चार महीना गेलेफु जेलमा राखिएको थियो । त्यहीबेलातिर गेलेफुको सैन्य थुनामा खडानन्द हुमागाई र टीकाराम धिमाललाई तथा लोद्राइ जेलमा रत्न विश्वकर्मा तथा खड्गबहादुर मगरलाई झुण्ड्याएर मारिएको खबर अधिकारीले सुनेका थिए । गेलेफु थुनामा प्रहरी पिटाइ खाने गंगाराम राईको जेलबाट छुट्नासाथै कुटपिट चोटकै कारण निधन भयो भने एचबी सापकोटालाई थिम्पू जेलमा कुटपिट गरेर मारेपछि ४ किलोमा लगेर प्रहरी–प्रशासनले फ्याँकिदिएको थियो । डम्फु, चिराङमा धर्मराज गुरुङलाई कुटेरै मारिएको थियो ।

अधिकारीका अनुसार, यसरी जेलमा लगिने वा पक्राउ पर्ने, सजाय तोक्ने सबै मामलामा अदालतसम्मै एकजना मात्रै वादी वा प्रतिवादी वकिल थिए—छिरिङ ओङ्दा । तत्कालीन गृह सचिव समेत रहेका ओङ्दाले राजबन्दी वा अन्य कैदीका हकमा समेत आफैं पक्ष–प्रतिपक्ष वकिलको भूमिका निभाउँथे भने आफैं जेल सजाय तोक्थे । “देशनिकालामा परेपछि सन् १९९२ को शुरुआतमै हामी पूर्वी नेपालको टिमाई पुग्यौं, पछि आसामको मेचे वस्तीमा राखिएका गाईबस्तु बेचबिखन गरेर खर्च उठाउन जाँदा सन् १९९३ को फेब्रुवरीमा मलाई भारतीय प्रहरीले आसामको कोक्राझारमा पक्राउ गरेर भुटानलाई बुझाएको थियो”,ब्रम्हलालले फोनमा सुनाए, “त्यसपछि लगातार १६ वर्ष म चेम्गाङ जेलमै थुनिएँ, त्यसमा पनि अघिल्ला ९ वर्षजति नेता टेकनाथ रिजालसँगै जेलमा थिएँ ।” अधिकारी शरणार्थीलाई तेस्रो देश पठाउने कार्यक्रमको अन्तिममा सन् २०१७ को मध्यमा अमेरिका पुगेका हुन् ।

ब्रम्हलाल जस्तै भूटानमा लामो समय जेलनेल बेहोर्ने विश्वनाथ क्षेत्री हाल अमेरिका छन् भने देवदत्त शर्मा काफ्ले र भक्ति भण्डारी पनि अमेरिकामै छन् । रतन गजमेर, आरके घले, आईबी क्षेत्री, जोगेन गजमेर र सुशील पोखरेल जस्ता भूटानी राजनीतिक अभियन्ता भने हाल अष्ट्रेलिया बसोबास गर्छन् ।

‘हामीलाई भूटानको जेल निरीक्षणको अनुमति छैन— आईसीआरसी’

सन् ९० को दशकको शुरुआतदेखि चर्किएको भूटानभित्रको आन्दोलनका कारण भूटान सरकारले विशेषगरी दक्षिण भूटानमा रहेका नेपालीभाषीलाई देशनिकाला गर्न थाल्यो । त्यसपछिको विद्रोहमा १ लाख भन्दा बढी भूटानी नागरिक शरणार्थी बनेर भारतीय भूभागको झण्डै २०० किलोमिटर छिचोलेर पूर्वी नेपालमा शरणार्थी बन्न आइपुगे । भूटान सरकारले आफ्ना नागरिकमाथि चलाएको ज्यादती र गैरन्यायिक थुना, बेपत्ता, हत्याको असहज स्थितिमाझ सन् १९९४ देखि भूटानमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले प्रवेश पाएको हो । भूटानको केन्द्रीय जेल चेम्गाङमा मात्रै आईसीआरसीको प्रतिनिधिमण्डलले भ्रमण गर्न पाउने र राजबन्दीको सहज गाँस–बास–कपासको प्रबन्धमा दबाब दिन सक्ने स्थिति उब्जियो । भूटानको राष्ट्रिय सुरक्षा ऐन अनुसार पक्राउ परेकालाई मात्रै हेर्ने (राजबन्दी) शर्तमा आईसीआरसीले भूटान प्रवेश अनुमति पाएको हो ।

जेल परेका कैदीले सुनाउने यातना र गैर न्यायिक व्यवहारहरू आईसीआरसीको भूटान प्रवेशपछि कम हुँदै गएको र आईसीआरसीकै पहलमा थुनामा रहेका राजबन्दीका आफन्तले वर्षमा चार पटकसम्म भेट्न पाउने प्रबन्ध शुरू भएको थियो । यो पक्षलाई अहिले पनि चेम्गाङ जेलमा रहेका आफन्तले ‘आईसीआरसीको गुणकारी काम’ भनेर प्रशंसा गरिरहेकै छन् । जेलमा सरसफाइ, स्वास्थ्य सरोकार, आफन्त जाँदा बस्ने पाहुना घर निर्माण (कन्ज्युगर वार्ड)आदि पक्षमा पनि आईसीआरसीले समन्वय गर्दै आएको छ । तर, सन् २०१२ पछि भने भूटान सरकारले आईसीआरसीलाई जेल भ्रमणको अनुमति दिन छाडेको छ । आईसीआरसीको नेपाल कार्यालयमा भूटान मामलाका लियाजन अफिसर मीरा राना बस्नेतका अनुसार, ‘भूटान सरकारले आईसीआरसी सहितका निकायले भने झैं कारागारभित्रको मापदण्ड, स्वास्थ्य, सुरक्षाजस्ता पक्षमा आवश्यक प्रबन्ध तय भइसकेका कारण अब आईसीआरसीको भ्रमण आवश्यक नरहेको’ जनाइएको थियो । यो शर्तमा भ्रमण गर्न सकिने भनेर भूटान सरकार र आईसीआरसीबीच १९९३ मा ‘समझदारी’ बनेको थियो, यो समझदारी अनुसार झण्डै १० वर्ष मात्रै आईसीआरसीले जेल भ्रमण गर्न पाएको थियो । हरेक वर्ष तय हुने ‘समझदारी’ २०१२ पछि ‘रिन्यू’ नै भएन ।

आईसीआरसीसँगको एउटै समझदारी भनेको थुनामा रहेका कैदीलाई आफन्तले भेट गर्न पाउने भन्ने शर्त भने मान्य छँदैछ । त्यो पनि शरणार्थी शिविरमा रहेका आफन्तले काठमाडौंमा आईसीआरसी अफिसलाई आफन्त भेट्न जाने बारेको अनुरोध पठाएपछि काठमाडौंले दिल्ली कार्यालय र दिल्लीबाट थिम्पूसँग सम्पर्क गरेर, त्यहाँबाट जेलमा कैदी तथा आफन्तका बारे छानबिन गरेर मात्रै आफन्त भ्रमणको अनुमति आउने गरेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का तर्फबाट भूटान मामला हेर्ने दिल्लीस्थित क्षेत्रीय प्रतिनिधिमण्डलका उपप्रमुख यान मिस्कोकले दिएको लिखित जवाफ ः

“हामी खेद प्रकट गर्दै यो स्पष्ट पार्न चाहन्छौं कि अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) भूटानका थुनाहरूमा सहजै निरीक्षण भ्रमण गर्न सक्ने अवस्थामा छैन । थुना रहेको स्थानहरूमा थुनाको अवस्थाको सुदृढीकरण गर्नु, पारिवारिक सम्पर्कलाई कायम राख्दै र पुनस्र्थापना गर्नु तथा सामान्यतया कानूनी सुरक्षालाई सम्मान कायम गर्नु आइसीआरसीको मुख्य उद्देश्य हो । हाल जारी महामारीमा आईसीआरसीले थुना रहेका स्थानमा कोभिड–१९ को सामान्य व्यवस्थापनलाई लिएर सम्बद्ध अधिकारीहरूसँग संवाद कायम राख्ने प्रयासस्वरुप दिशानिर्देश तथा उत्तम अभ्यास संचालन (काम गर्ने) का उपायहरू बाँडेको थियो ।

आईसीआरसीले थुनामा रहेका बन्दीको सूचना संकलन गरेको कुरामा, ती सूचनाहरू सम्बन्धित थुना अधिकारी (डिटेन्सन अथरिटी)सँग मात्र बाँड्न सकिन्छ, अरुलाई दिन सकिंदैन । थुना निकाय(जेल)सँगको सहमति अनुसार उनीहरूसँगको पूर्व मन्जुरीविना त्यो सूचना बाँड्न मिल्दैन ।

आईसीआरसीले थुनामा रहेका बन्दीको पहिले नै संकलन गरेको व्यक्तिगत विवरण बारेमा भन्नैपर्ने हुन्छ— आईसीआरसी तथ्यांक सुरक्षाको कडाइ नियममा बाँधिएको छ । सामान्यतया, कुनै तेस्रो पार्टीलाई यी तथ्यांक उपलब्ध गराएर यसले सम्बन्धित व्यक्ति वा उनका आफन्तजनलाई सम्भावित हानि नहोस् भन्ने प्रयास आईसीआरसीले गरिरहेको हुन्छ ।

जहाँसम्म तथ्यांक विवरणको कुरा छ— हामी तपाईंलाई सार्वजनिक रूपमा उपलब्ध तथ्यांक प्रयोग गर्न आग्रह गर्छौं, वा यसबारेमा सम्बन्धित अधिकारीलाई सूचना उल्लेख गराइदिन मात्रै सक्नेछौं ।”

Loading...