श्रीमतीकै योजनामा माओवादी नेता दीपक पाण्डेयको हत्या भएको खुलासा

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दबाब दिएर पाण्डेको हत्या गरेको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाबिच ५ वर्षदेखि सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैबिचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान् श्रीमतीबिच मनमुटाब आएको थियो । मृतक पाण्डे र यादवबिच पनि सम्बन्ध बिग्रिएको र दीपक दुवैका लागि समस्या हुन थालेपछि हत्याको योजना बनाइएको प्रहरीले जनाएको छ । पटक पटक हत्याको योजना बनाउन श्रीमतीले ओमप्रकाशलाई दबाब दिएपछि थेग्न नसकेर घटना गराइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । लामो समयदेखि पाण्डेमाथि गरेको निगरानी र मुभमेन्टका कारण गत जेठ ५ गते राति करिब ११ बजेतिर गोली प्रहार गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा उनीमाथि ३ जनाले गोली प्रहार गरेका थिए । सख्त घाइते पाण्डेको जेठ १० गते शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको अधिकारीले बताएका छन् ।
हत्यामा रमजान साह मुसलमान, साकिर अलि पखिया र ओमप्रकाश संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको पेस्तोल खरिद गर्न, ओसारपसार र घरमा लुकाइ छिपाइ राख्न सहयोग गर्ने ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १, कैलाश टोलका पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका २, बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभिटवाका ज्ञानेन्द्रकुमार पाण्डे र वडा नम्बर ४ सेमरीका राधेश्याम चौधरी रहेका छन् । त्यस्तै, कपिलवस्तु नगरपालिका ५, गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका १, मस्जिदटोलका नसरल अलि र कपिलवस्तु नगरपालिका २, बर्दहवाका प्रवीण गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार