डलर सुदुरपश्चिममा, काठमाण्डौंमै छाउपडिको पीडा (भिडियो सहित)

तुलसी अर्याल/ टिभी अन्नपुर्ण

आजको युग विज्ञानको युग हो । चेतनाको विस्तार सँगै विश्वका धरै मुलुकहरूले विकासको फड्को मारिसकेका छन् । तर, काठमाडौँका मान्छेका सोच र चेतनास्तर भने अझै १९ औँ शताब्दीकै छ । पश्चिम नेपालको दुर्गम जिल्लाका दुर्गम बस्तीमा छाउप्रथाकै कारण किशोरीदेखि महिलाहरूको ज्यान नै गएको स्तब्धपूर्ण समाचार आइरहेका छन् । परम्परागत प्रथा छाउको कारण धेरै महिलाहरू आज पनि विभेद र हिंसाको सिकार चेतनाको दियो नबलेको ग्रामीण बस्तीमा भइरहेका छन् । तर, सहरिया काठमाडौँको समाज यस्तै विभेदका घटनाबाट मुक्त छैन । सरकारले छाऊपडीको अन्त्य गरे पनि विकट ठाउँको त कुरै छाडौँ देशको राजधानीमा अहिलेसम्म पनि यो कुप्रथा कायमै छ ।

काठमाडौँको चाबहिल बस्दै आएकी सीता बराल २० वर्षकी भइन् । अविवाहिता उनको घरपरिवारमा सबै पढेलेखेका छन् । तर पनि उनी महिनावारी भएको बेला घर भान्सामा गएर आफैँले मन लागेको खानेकुरा खान त छुन सम्म पाउँदिनन् । महिनावारी हँुदा पूजा कोठा, भान्सा कोठामा प्रवेश गर्न नपाउने गुनासो उनको छ । यो उनले चाहेर होइन परिवारबाटै लगाइएको बन्देजबाट हो । चेतनाशील र विज्ञानको अहिलेको समयमा पनि महिनावारी हुँदा काठमाडौँमै विभेदको सिकार पढेलेखेका परिवारमै हुनुपर्ने अवस्था अझै छ । पढेलेखेका भए पनि मानिसको सोच कतिसम्म परिवर्तन भयो भन्ने प्रश्न उठाएको छ । प्रविधिले मान्छेलाई नै जित्न खोजिरहेका युगमा प्राकृतिक रूपमा शरीरमा आउने नियमित परिवर्तनलाई छुवाछुत मान्छ । छोइछिटो गर्छ । पढाइमा मास्टर्स, ब्याचलर पढ्ने, विश्वका रहनसहन बुझ्नेहरुमा पुरातनवादी सोच भने अझै बदलिएको छैन । ज्यूकांत्यू छ ।

काठमाडौंमैं बस्ने २१ वर्षीया पार्वती अर्यालको पीडा बरालको भन्दा फरक छन् । उनी त्यस्तै विभेदको सिकार भएकी भइरहेकी छिन् । महिनावारी हुँदा उनी बुबा, दाजुभाइ त के आफ्नै श्रीमानलाईसमेत छुन पाउँदिनन् । महिनाका २६ दिन उनी आफ्नो हातले परिवारलाई खाना बनाएर खुवाउछिन् । तर, महिनावारी भएको ४ दिन सम्म आफ्नो हातले पकाएको खाना खान नपाउँदा उनी दुखी छिन् । कामको बोझभन्दा आफूमाथि भएको विभेद नमिठो लाग्छ । शरीरमा आउने नियमित प्राकृतिक प्रक्रिया उनलाई खासै ठुलो लाग्दैन । तर, उनको परिवार विभेदको यो कुरा सुन्न पनि चाहँदैन । घरमा दुई दिन पुस्तादेखि यस्तै संस्कार भएको भन्दै आफूहरूले पनि यस्तो भोग्नुपरेको उनी बताउँछिन् । पस्तौंदेखिको यो कुरिती उनलाई मन परेको छैन । बदल्न चाहन्छिन् तर, घरपरिवारका सासू ससुरा विपरीत जान सक्ने अवस्थामा उनी छैनन् । उनले छोरी र आफूले पनि महिनावारी हुँदा पूजा कोठा लगायत भान्सा कोठामा नजाने गरेको बताइन् ।

तर, महिनावारी रोकिएको ५० वर्षीय सिता थापा परिवारको कथा पनि बेग्लै छ । आफ्नो समयमा आफू घर परिवारलाई पकाएर नखुवाउने, पूजा र भान्सा कोठामा नजाने गरेको उनले बताइन् । तर, आफूले भोगेको विभेदलाई उनले निरन्तरता दिएकी छैनन् । घरका नातिनी, छोरी, बहारीले भनेको नमान्दा आफू पनि यस विषयमा खासै चासो नगर्ने बताउँछिन् । घरमा कोही महिनावारी भएको बेला कसैले बार्नुपर्दैन । अर्थात् खाना पकाउनेदेखि पुजाकोठासम्म पनि घरका महिला सदस्यलाई बन्देज छैन । महिनावारी हुँदा अरुबेलाभन्दा बढी संवेदनशील बन्नुपर्ने र स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । सरकारले पनि नीतिगत रूपमै छाउपडी गोठ र विभेदमुक्त बनाउने अभियान सञ्चालन गरेको छ । विभिन्न गैर सरकारी संस्थाले यस क्षेत्रमै कार्यक्रम गरी चेतना बाँड्न करोडौं रुपैयाँ खर्च गर्छन् । तर, करोडौं रुपैयाँ सकिन्छ तर, शहरिया समाजकै विभेदको सोचन र व्यवहार अझै सकिएको छैन । उनीहरूमा झन् बढी पुरातनवादी सोचले डेरा जमाएको छ ।

नीतिगत रूपमा छाउ प्रथाको अन्त्यको घोषणा भए पनि मानिसको चेतनामा भने परिवर्तन आएको छैन । अङ्ग्रेजी महिनाको मे २८ तारिखका दिन विश्वभर महिनावारी दिवस मनाउँदै आइएको छ । तर, बर्सेनि दिवस मनाउँदा पनि हाम्रो सहरी समाजमा यो दिवसले सकारात्मक परिवर्तन पार्न सकेको छैन । महिनावारीको समयमा हुने विभिन्न शारीरिक समस्या त छँदै छ । अझै यो समयमा हुने विभेदले महिलाहरू अझै पीडित छन् । देशका विभिन्न विकट गाउँमा अझै घरबाहिर बस्नुपर्ने बाध्यता हटेको छैन । महिनावारीको क्रममा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यताका कारण विभिन्न ज्यान जाने गरेका घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । महिनावारी भएको बेला अरुबेला भन्दा बढी स्वास्थ्यमा ध्यानदिनु पर्ने र पोषिलो खानेकुरा खान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव हुन्छ । तर, विज्ञानले महिनावारी भएकालाई विभेद गर्ने कुरा कहीँ गर्दैन । तर, हामी नेपालीहरूको सोचमा अझै परिवर्तन आएको छैन ।

Related posts

Leave a Comment